खगेन्द्र कार्की
फत्तेपुर, ०६ फागुन ।
सप्तरीको सप्तकोशी नगरपालिकामा बिहीबार चार दलीय गठबन्धनद्वारा लगाएको ताला नगरपालिकाले बल प्रयोग गरेर तोडेको छ । आन्दोलनरत पक्षको सहमति बिनै नगरपालिकाले शुक्रबार ताला तोडेको हो ।
आन्दोलनरत् पक्षलाई पटक–पटक बार्तामा बोलाउँदा नआएपछि प्रशासनको रोबहरमा जनप्रतिनिधि र कर्मचारी भएर ताला खोलिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीले बताए । चौधरीका अनुसार आन्दोलनरत पक्षले बिभिन्न ६ बुँदे मागसहित ज्ञापन–पत्र बुझाएतापनि सूचना लिन कोहि नआएको र एक्कासी तालाबन्दी गरिएको बताए । नगरपालिका मागेको सुचना जुनसुकै बेला उपलब्ध गराउन तयार रहेको समेत उनले बताए ।

सोही तालाबन्दीको बिषयमा नगरप्रमुख उत्तम कुमार शर्मासँग बुझ्दा तालाबन्दी गर्नु अगाडि नै आन्दोलनरत दललाई बार्ताको माध्यमबाट निकास निकालौं प्रतिनिधि आउनु भनेर भन्दा भन्दै तालाबन्दी गरियो उनेल भने, नगरपालिका आन्दोलनरत पक्ष जुनसुकै बेला सूचना उपलब्ध गराउन तयार रहेको र कार्यपालिकाको बैठकबाटै निर्णय गरिसकिएकोले सुचना उपलब्ध गराउने गरी ताला खोलिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा बिहीबार सप्तकोसी नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा ताला लगाएका थिए ।
महालेखा नियन्त्रण कार्यालयबाट सप्तकोशी नगरपालिकाको बेरुजुको विवरण तथा आन्तरिक लेखापरीक्षणको विवरण उपलब्ध गराई नगरकार्यपालिका र नगर सभाबाट पारित गरी कानुनी कार्बाही सम्बन्धि निर्णयको विवरण उपलब्ध गराउनुपर्ने, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको मापदण्ड ठेक्का प्रक्रिया र अंग्रेजी माध्यमबाट कक्षा संचालन खर्च ब्यबस्थापनको विवरण उपलब्ध गराउनुपर्ने, आर्थिक वर्ष २०७८÷०७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने, कोभिड नियन्त्रणका नाममा भएको खर्च विवरण उपलब्ध गराउनुपर्ने सहित ६ बुँदे मागसहित चार राजनीतिक दलले तालाबन्दी गरेका थिए ।
सप्तकोसी नगरपालिका रहेका चार दलले यसअघि नगरपालिकामा गत माघ २४ गते ६ बँुदे ज्ञापन–पत्र बुझाउँदै ७ दिनभित्र माग पूरा गर्न अल्टिमेटम दिएको थियो ।