• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तकोशी नगरपालिकामा चारदलीय गठबन्धनद्वारा तालाबन्दी

व्यापक अनियमितिता गरेको आरोप
सप्तकोशी नगरपालिकामा चारदलीय गठबन्धनद्वारा तालाबन्दी

खगेन्द्र कार्की
फत्तेपुर, ०५ फागुन ।
चारदलीय गठबन्धनद्वारा सप्तरीको सप्तकोशी नगरपालिकामा बिहीबार तालाबन्दी गरेका छन् । नेपाली काँगेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र एकीकृत समाजवादी पार्टीले बिभिन्न ६ बँुदे माग राखी नगरकार्यपालिकाको कार्यालय तालाबन्दी गरेका हुन् ।

सप्तकोशी नगरपालिकाका नगरप्रमुख उत्तम कुमार शर्माको कार्यकक्षमा भएको तालाबन्दी । फोटो ः न्यूज टुडे

गठबन्धनले नगर प्रमुख उत्तम गौतमको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकक्ष, लेखा र प्राविधिक शाखामा ताला लगाएका छ्न । महालेखा परीक्षणको कार्यालय प्रतिवेदनअनुसार सप्तकोशी नगरपालिकाको वेरुजु विबरण तथा आन्तरिक लेखा परीक्षण गरी नगरकार्यपालिकाबाट पारित गरी कानुनी कारबाहीको विवरण उपलब्ध गराउनुपर्ने, राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरको भवन निर्माणको मापदण्ड ठेक्का प्रक्रिया र अंग्रेजी माध्यम कक्षा संचालन खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनुपर्ने, आव २०७८÷०७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजनाहरुको कार्यान्वयन तुरुन्त गर्नुपर्ने, कोभिड १९ नियन्त्रणको नाममा भएको खर्च विवरण उपलब्ध गराउनुपर्ने, सडक बोर्डबाट प्राप्त रकमको विवरण तथा हाल बिभिन्न मूल सडकमा भएको सिमेन्ट बालुवाको मिश्रण पोत्ने कार्य कुन निर्माण मापदण्ड र श्रोतबाट भएको हो त्यसको बिस्तृत विवरण उपलब्ध गराउनु पर्ने, नगरपालिकाले खरिद गरेका बिभिन्न निर्माण तथा ढुवानीमा प्रयोग भएका उपकरणको विबरण, सोको उपयोगिता तथा आम्दानी खर्चको विवरण र सोबापत चालक र सहयोगीसहितको तलवभत्ता खर्चको विवरण उपलब्ध गराउनुपर्ने लगायतका ६ बुँदे मागसहित स्थानीय चार राजनैतिक दलले तालाबन्दी गरेको जनता समाजवादी पार्टी सप्तकोशी नगरसंयोजक राम कुमार यादवले बताए ।

गठबन्धनमा आबद्ध ४ दलले यसअघि नगरपालिकामा गत माघ २४ गते ६ बुँदे ज्ञापन–पत्र बुझाउँदै एकहप्ता भित्र माग पूरा गर्न अल्टिमेटम दिएको थियो । डेढ हप्ता बितिसक्दा पनि माग पूरा नभएकोले तालाबन्दी गर्न बाध्य भएको संघर्ष समितिका संयोजक युवराज खनाले बताए ।

नगरपालिकामा ताला लगाएको विषयमा नगरप्रमुख गौतमसँग बुझ्दा आन्दोलनरत् ४ दलसँग बार्ता गरी नगरपालिकामा लगाएको ताला खोलिने तथा बार्ताको लागि बोलाईसकिएको प्रतिक्रिया दिए ।