न्यूज टुडे
राजविराज, ०५ फागुन ।
सप्तरीको रुपनी गाउँपालिकामा स्थानीय चुनावको सदगर्मी बढेको छ । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते घोषणा गरेसँगै दलहरू उम्मेदवार छनौटका साथै चुनावको आन्तरिक तयारीमा जुटेको हो ।
रुपनी गाउँपालिकामा स्थानीय तहको चुनावको पूर्व तयारीका लागि राजनीतिक दलहरुले आफ्ना गतिविधिलाई तीब्र बनाएको जनाएको छ । चुनावको चलपहल बढेसँगै उम्मेदवारी घोषणा गर्नेदेखि लिएर बिभिन्न पदका लागि आकांक्षीहरु बढेका छन् । रुपनी गाउँपालिकाका सत्तारुढ दल जनता समाजवादी पार्टीबाट बर्तमान गाउँपालिका अध्यक्ष हरेराम यादव, बलराम यादव र युवा नेता शिवम यादव अध्यक्षको आकांक्षी रहेका छन् भने, उपाध्यक्षमा बर्तमन गाउँपालिका उपाध्यक्ष समेत रहेकी बेचनदेवी सरदार र दिल कुमारी चौधरीले दावी गरेकी छिन् ।
यसैगरी नेपाली काँग्रेसबाट यूवा नेता ईन्जिनियर चन्द्र नारायण यादव, राम नारायण ईसर, भागवत यादव र सुगम्वर यादव अध्यक्षका आकांक्षी छन् भने उपाध्यक्षका लागि कसैको नाम पनि चर्चामा छैन । नेकपा एमालेको तर्फबाट अध्यक्षमा गनु साहले आकांक्षा राखेको छ भने उपाध्यक्षमा अन्जु चौधरीको नाम चर्चामा छ । लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट दिनेश कुमार यादव र पिताम्बर यादवको नाम अध्यक्षका लागि प्रस्ताव भएका छन् भने उपाध्यक्षमा कसैले पनि दावी गरेका छैन । माओवादी केन्द्रबाट अरुण कुमार साह, रामभजु यादव र हरिनारायण महतो अध्यक्षका आकांक्षी छन् भने उपाध्यक्षमा देवकी देवी ईसरले दावी गरेकी छिन् ।
यसैगरी एकीकृत समाजवादी पार्टीबाट असर्फीलाल यादव, दिपक चौधरी र कुमारमान श्रेष्ठ अध्यक्षको रुपमा प्रस्तुत भएका छन् भने उपाध्यक्षमा कोही पनि आकांक्षी देखिएको छैन । सिके राउत नेतृत्वको जनमत पार्टीबाट भोली प्रसाद यादव, प्रमोद माझी, मो. रहिद शिवराम ईसर अध्यक्षको आकांक्षी छन् भने रनिया देवी खंग र रंजना ईसर उपाध्यक्ष पदमा दावी गरेकी छिन् ।
सरकारले बैशाख ९ गते उम्मेदवारी दर्ता १५ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् भने ३० गते मतदानको समय तोकेको छ । सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि दलहरु निर्वाचनको तयारीका लागि आन्तरिक कसरतमा थप सक्रिय भएका छन् ।
रुपनी गाउँपालिकामा जनता समाजवादी पार्टी, नेपाली काँग्रेस, लोसपा, एमाले, माओवादी, नेकपा एस र जनमत पार्टीले बीच चुनावी संघर्ष भएपनि जसपा, काँग्रेस र लोसपा बीच कडा प्रतिस्पर्धा रहने राजनीति विषलेशकहरुले जनाएका छन् ।