न्यूज टुडे
राजविराज, ०४ फागुन ।
सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने घोषणासँगै सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकामा चुनावी चहलपहल शुरु भएको छ । स्थानीयस्तरमा राजनीतिक दलका क्रियाकलाप बढ्नुको साथै अध्यक्ष र उपाध्यक्ष पदका सम्भावित उम्मेदवारहरु दावी गर्नेहरुको लर्कोसँगै चुनावी सद्गर्मी बढेको हो ।

गाउँपालिका अन्तर्गतका बिभिन्न राजनीति दलबाट अध्यक्ष र उपाध्यक्ष पदका आकांक्षीहरुले आफुलाई योग्य उम्मेदवार भएको दाबी प्रस्तुत गर्न थालेका छन । स्थानीय सरकारको नेतृत्व गर्ने दल नेपाली काँग्रेसबाट अध्यक्ष पदमा आकांक्षा राख्नेहरुमा बर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका पर्शुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, पार्टीका गाउँपालिका अध्यक्ष समेतको जिम्मेवारीमा रहेका रोशन कुमार मण्डर थारु, महेश यादव रहेका छन् ।
यसैगरी उपाध्यक्षमा कल्पना चौधरी र निशा चौधरीले दाबी प्रस्तुत गरेकी छिन् । नेकपा एमालेबाट दिनानाथ चौधरी, वीर बहादुर मगर, बद्रीनारायण चौधरी, योगेन्द्र प्रसाद चौधरी, राम नारायण महतो अध्यक्षको आकांक्षी रहेका छन् भने उपाध्यक्षमा शैलेन्द्री देवी लेखी, कुशुम आचार्य, दानो चौधरी, सावित्री चौधरी र कल्पना कोईरालाले दाबी गरेकी छिन् । यस्तै माओबादी केन्द्रको तर्फबाट बेचन प्रसाद चौधरी अध्यक्षको आकांक्षी रहेका छन् भने रमिता सदाले उपाध्यक्षमा दावी प्रस्तुत गरेकी छिन् ।
उनीहरु प्रथम स्थानीय तहको निर्वाचनमा समेत दुबै जना सोही पदका उम्मेदवार थिए । यस्तै छोटो समयमा प्रभावशाली बनेका जनता समाजवादी पार्टीबाट रामदेव यादव, अशोक कुमार चौधरी, मिलन चौधरी, दुर्गानन्द चौधरी, सत्यनारायण चौधरी अध्यक्षको आकांक्षीको रुपमा रहेका छन् भने सरस्वती तामाङ, परमेश्वरी देवी यादव, माधुरी चौधरी, रेनुका खंग, सरिता चौधरी, कोपिला चौधरी जानुका चौधरीले उपाध्यक्षमा दावी गरेकी छन् ।
चुनावको मिति नजिकिदै जाँदा स्थानीयस्तरका राजनीति दलहरुले निर्वाचनको तयारीका लागि बैठक, सभा र कार्यक्रमहरुलाई बाक्लो बनाउन थालेका छन् । हालसम्म अध्यक्षको आकांक्षीको रुपमा महिलाबाट मिना चौधरी मात्र छिन् ।
सरकारले बैशाख ९ गते उम्मेदवारी दर्ता १५ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् भने बैशाख ३० गते मतादानको मिति घोषणा गरेको छ ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी अस्तित्वमा छन् भने, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टीको खासै प्रभाव नरेको राजनैतिक विशलेषकहरु बताउँछन् । गाउँपालिकामा आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन अहिलेदेखि नै कसरत भईरहेको स्थानीय राजनीतिज्ञहरुले बताएका छन् ।