न्यूज टुडे
राजविराज, ०४ फागुन ।
एमसीसी सम्झौता संसदमा टेबुल गर्न नहुने माग राखेर बिभिन्न राजनीतिक संगठनले बुधबार गरेको नेपाल बन्दको प्रभाव सप्तरीमा शून्य रहेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दको प्रभाव सप्तरीमा शून्य रहेको हो ।

सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीको सवारी साधन राजमार्गमा निर्बाध रुपमा चलेका छन् भने सबै कलकारखाना, विद्यालय, पसलहरु विहानैदेखि खुलेका छन् । सप्तरीमा कतै कुनै प्रकारले बन्दको असर परेको छैन । अन्य दिन जस्तै अबस्था सामान्य रहेको सप्तरीका प्रहरी प्रबक्ता माधव प्रसाद काफ्ले बताए ।
सप्तरीमा बन्दको असर खासै परेको छैन, प्रहरी प्रबक्ता काफ्लेले भने, पहिले जस्तै सामान्य अबस्था छ, राजमार्गमा सवारी साधन संचालनमा छन् । उनले कतै राजमार्ग तथा कलकारखाना अबरुद्ध नभएपनि सुरक्षा ब्यवस्था भने कडा पारिएको बताए । चौक–चौकमा प्रहरी तैनाथ गरिएको तथा सादापोशाकमा प्रहरी परिचालन गरी मोबाइल गस्ती जिल्लाभर खटाएको उनले जानकारी दिए ।