न्यूज टुडे
राजविराज, ०३ फागुन ।
मधेशको मसिहा भनी चिनिएका स्वर्गीय गजेन्द्रनारायण सिंहको स्मृतिमा राजविराजमा स्थापित गजेन्द्र चौक फोहोरले दुर्गन्धित बनेको छन् । सरोकारवालाहरुको उदासिनताको कारण सरसफाइको अभावमा गजेन्द्र चौकमा फोहोरले दुर्गन्धित भएको हो ।
राजविराज नगरपालिकाको बीच भागमा अवस्थित गजेन्द्र चौक संरक्षणको अभावमा फोहोर फ्याल्ने डम्पिङ साईडमा परिणत हुँदै गएको स्थानीयहरुले बताएका छन् । दैनिकजसो राजनैतिक दल तथा सरकारी तथा गैरसरकारी संस्थाहरुको सभा र कार्यक्रम गर्ने स्थलको रुपमा प्रयोग गरिएपनि गजेन्द्र चौकको सरसफाईमा भने कसैले चासो नराखेको स्थानीय समाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले बताए ।

गजेन्द्र चौकमा राजनैतिक दल र सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको कार्यक्रम गर्ने अखडा भएको छ, समाजसेवी ईन्जिनियर यादवले भने, यसको संरक्षण तथा सरसफाईमा भने कसैको ध्यानाकर्षण भएको छैन । गजेन्द्र चौकको उचित सरसफाई र संरक्षणको अभावले कुरुप बन्दै गएको उनले बताए ।
मधेशका मसिहा स्वर्गीय गजेन्द्र बाबुको शालिक राखेर स्थापना गरिएको चौकको पछिल्लो स्थिति हेर्दा वहाँप्रति ठूलो अन्याय र अपमान गरिएको अनुमान गर्न सकिने उनको भनाई छ । चौकको पार्क भित्र झारपात र पानीको बोतल लगायतका फोहोरले भरिएको छ, उनले भने, बाहिरबाट हेर्ने हो भने बिभिन्न पोष्टर र पम्पलेटले कुरुप बनाएको छ । यादवले हात धुनका लागि चौकको चारैतर्फ राखिएको धारा र पानी टंकी प्रयोगविहीन रहेको समेत बताए ।
त्यसले झनै चौकको सौन्दर्यतामा कमी ल्याएको बताउँदै उनले लगानी समेत दुरुपयोग भएको बताए । मधेश आन्दोलनका क्रममा तत्कालीन त्रिभुवन चौकलाई भत्काएर गजेन्द्र चौक बनाईएको थियो । राजा त्रिभुवनको शालिक हटाएर मधेशका मसिहा स्वर्गीय गजेन्द्र नारायण सिंहको शालिक स्थापना गरिएपनि चौकको रौनकतामा भने कमी आएको स्थानीयहरु बताउँछन् ।
तत्कालीन त्रिभुवन चौक हुँदा दैनिक सरसफाई र वरिपरी फुलको विरुवाले सजिसजाउ देखिने चौकमा अहिले झारपात र फोहरले ढाकेको उनीहरु सुनाउँछन् । मधेश सरकारले माघ ५ गते चौथो बलिदानी दिवस र माओवादी केन्द्रले फागुन १ गते २७ औं जनयुद्ध दिबसको अबसरमा सहिदको स्मृतिमा दीप प्रज्वलनसहितका कार्यक्रम आयोजना गरेपनि गजेन्द्र चौकको संरक्षणबारे कुनै चर्चा हुन सकेन ।
मधेशको विषयमा कुनै ठूलो उथलपुथल हुँदा होस् वा आफ्ना पार्टीका नेता सरकारमा सामेल भएको बेला गजेन्द्र चौकमा निकै उत्साहपूर्वक भेला हुने राजनीतिक दलका नेताकार्यकर्ता र जनप्रतिनिधिहरु समेत गजेन्द्र चौकको सौन्दर्यतातर्फ उदासिन देखिएको स्थानीयहरुको भनाई छ ।