न्यूज टुडे
राजविराज, ०३ फागुन ।
सप्तरी प्रहरीले बिभिन्न मुद्दाका दुई जाना फरार प्रतिवादी पक्राउ गरेका छन् । राजविराज नगरपालिका ६ का सवारी ज्यान मुद्दाका ३३ बर्षीय ललन कुमार देव र राजगढ गाउँपालिका २ का बोक्सीको आरोप मुद्दाका फरार प्रतिवादी रामविलास यादवलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएका हुन् ।
अमरेन्द्र कुमार झाको जाहेरीअनुसार देवलाई सप्तरी जिल्ला अदालतको मिति २०७४ असार ५ गतेको फैसालाले दोषी ठहर गरी ५ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियोे । उनलाई घरमा बसिरहेको अबस्थामा माघ २९ गते फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सप्तरी जिल्ला अदालतमा सोमबार हाजिर गराई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी सरस्वती देवी खंगको जाहेरीमा बोक्सीको आरोप मुद्दाका जिल्ला अदालत सप्तरीको २०६७ माघ १८ गते र तत्कालिन पुनरावेदन अदालत राजविराजको २०७१ मंसिर २९ गतेको फैसलाअनुसार दोषी ठहर भएपछि फरार यादवलाई आफै घरमा बसिरहेको अबस्थामा सोमबार फेला परी पक्राउ गरेको प्रहरीले बताएका छन् । यादवलाई ३ महिना कैद र १० हजार रुपैया जरिवानाको फैसला गरिएको थियो ।
फरार रहेका प्रतिवादी यादवलाई सोही दिन जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।