न्यूज टुडे
राजविराज, ०२ फागुन ।
गरे के नै हुन्न र ? एउटा सानो लगानीमा संचालित व्यबसायले सप्तरीको खडक नगरपालिका वडा नम्बर ११ का संतोष चौधरीको दैनिकी फेरिएको छ । दिनभरी बरालिएर हिड्ने उनी यतिबेला आफूसहित पुरै परिवारलाई रोजगारी दिन सफल भएका छन् ।
घरको छेउमा अढाई कठ्ठा जग्गामा कृषि फर्म खोलेर मासिक २५ देखि ३० हजारसम्म कमाउन सफल भएको उनी बताउँछन् । तीन महिना अघि धान गहुँ मात्र हुने खेतमा एउटा सानो पोखरी र पोखरीको डिलमा कुखुरा फर्म संचालन गरेपछि उनको दैनिकी फेरिएको हो ।

पोखरीमा माछा, ६० वटा हाँस र डिलमा कुखुरा पालेको छु, आफ्नो ब्यबसाय बारे बेलिबिस्तार सुनाउँदै संतोषले भने, ४१ वटा हाँसले दैनिक अण्डा दिन्छ, उन्नत जातको हाँस पालेको छु, छ महिना निरन्तर अण्डा दिने गरेको छ । पोखरीको डिलमा पालिएको कुखुरा फर्ममा तयारी कुखुराबाट दैनिक १ हजार देखि २ हजारसम्म फाईदा भईरहेको उनले बताए । उनले २ महिनामा ७० देखि ८० हजारसम्म फाईदा भएको जानकारी दिए ।

अरुको काममा जोतिनु भन्दा आफ्नै कृषि फार्ममा म सन्तुष्ट छु, सन्तोषले भने, आफ्नो काममा वुवा र श्रीमतिले पनि सहयोग दिने गरेको छ । पहिला दिनभरी जुवातास खेलेर बिताउने गरेको अनुभव सुनाउँदै उनले घरपरिवारले गर्ने कचकच पछि साथीहरुको सहयोगमा कृषि पेशा रोजेको बताए । आफुले थालेको कुखुरा फर्ममा दैनिक २०÷२५ जनाले अबलोकन गर्दै आएको उनले बताए ।
कुनैपनि सरकारी निकायको सहयोगविना आफ्नो ब्यक्तिगत लगानीमा संचालित फर्ममा हालसम्म २ लाख ३० हजारले शुरु गरेको ब्यापारमा भविष्यमा अरुलाई रोजगारि दिने उद्देश्य राखेको उनले बताए । हाम्रो गाउँमा धेरै युवायुवती बेरोजगार रहेकाले भविष्यमा कुनै सरकारी सहयोग पाए उनीहरुलाई स्वरोजगार बनाउने अठोट समेत गरेको उनले जानकारी दिए ।