न्यूज टुडे
राजविराज, ०१ फागुन ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध ९ जनवर्गीय संगठनहरूको आयोजनामा सप्तरीको राजविराजमा आइतबार एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ । एमसीसी राष्ट्रियहित, सुरक्षा र सार्वभौमिकता विपरीत रहेको भन्दै उनीहरूले सप्तरीलगायत देशैभर प्रदर्शन गरेका हुन् ।
एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीले एमसीसी खारेज गर, वैदेशिक हस्तक्षेप अन्त्य गर, एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन लगायतका नाराबाजीसहित प्लेकार्डसहित प्रदर्शन गरेका थिए । एमसीसीको विरोधमा यतिबेला बिभिन्न राजनीतिक दल र तीनका भ्रातृ संगठनहरूले प्रदर्शन गर्दै आइरहेका छन् । नेपालमा एमसीसीको विषय पछिल्लो समय थप पेचिलो बन्दै गइरहेको छ । एमसीसी संसद्मा टेबल गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता साझेदार दलहरू एकमत हुन सकेका छैनन् ।

सप्तरीस्थित नेकपा एकीकृत समाजवादी पार्टी कार्यलयबाट निस्कको विरोध ¥याली नगर परिक्रमा गरी दशन चौकमा कोण सभामा परिणत भएको थियो । पार्टी निकट भ्रातृ संगठनहरूले एमसीसी विरुद्ध देशव्यापी रुपमा एक साथ विरोध प्रदर्शन गरेको छ । नेपाल खेलकुद महासंघ समाजवादी, अखिल नेपाल महिला संघ समाजवादी, अखिल नेपाल किसान महासंघ, यूवा किसान संघ, समाजवादी प्रेस संगठन लगायतका भ्रातृ संस्थाहरूले विरोध प्रदर्शन गरेको हो ।
यसअघि सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले देशको अहित नहुने गरी एमसीसी अगाडि बढाउन चाहेको बताएका थिए । एमसीसीका कारण रणभूमि बनाउने पक्षमा आफूहरू नरहेको उल्लेख गर्दै नेता नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताएका छन् ।