न्यूज टुडे
राजविराज, ०१ फागुन ।
लागुऔषध विरुद्ध एक्सनमा रहेका सप्तरी प्रहरीले फेरी अर्को सफलता हाँसिल गरेको छ । प्रतिबन्धित लागुऔषध नियन्त्रणमा सक्रिय प्रहरीद्वारा शनिबार सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर १ झुट्कीका शिवशंकर यादवलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका यादवको साथबाट फेनारागन ९७ एम्पुल, डाईजेपाम ९९ एम्पुल बरामद् भएको प्रहरीले जनाएको छ । यादवले घरको पूर्वतर्फ रहेको शौचालयको छेउमा कालो प्लाष्टिकको झोलामा लुकाएर राखिएको अबस्थामा सो आगुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा राखी अनुसन्धान अगाडि बढाईएको सप्तरीका प्रहरी प्रबक्ता माधाव प्रसाद काफ्लेले जानकारी दिए ।
साँझ ६ बजे पक्राउ गरिएका यादवलाई जिल्ला प्रहरी कार्यालय ल्याउन स्थानीयले अबरुद्ध गरेका थिए । बरामद् लागू औषध यादवको नभएको भन्दै उनीहरुले ४ घण्टा प्रहरीको बाटो छेकेपछि राती १० बजे जिल्ला प्रहरी कार्यालय ल्याईएको उनले बताए । यादवलाई संरक्षण दिन स्थानीय उत्रिएपछि सो क्षेत्रको अवस्था तनावपूर्ण बनेको प्रहरीले जनएको छ । पक्राउ परेका यादवलाई लैजान नदिएपछि उक्त स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थपबल परिचालन गरिएको थियो । उनलाई पक्रेर ल्याउन स्थानीयले अबरोध उत्पन्न गरेपछि सयौंको संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
प्रहरी नायब उपरीक्षक काफ्लेले स्थानीयबासीलाई सम्झाई बुझाई गरेर राती १० बजेमात्र यादवलाई जिल्ला प्रहरी कार्यालय ल्याएको जानकारी दिए । सप्तरी प्रहरीले दुई महिनाको अबधिभित्र पटक–पटक गरी ठूलो परिमाणमा लागू औषधसहित कारोबार तथा प्रयोगमा संलग्नहरुलाई नियन्त्रणमा लिएका छन् । उनीहरुलाई लागुऔषध विरुद्ध मुद्दा दर्ता गरी कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ ।