न्यूज टुडे
राजविराज, २७ माघ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित रहेको श्री लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालयमा बिहीबार अभिभावकहरुले तालाबन्दी गरेका छन् । शिक्षक सेवाको दरबन्दीको विज्ञापन निकाल्दा प्रधानाध्यापक र विद्यालय व्यबस्थापन समितिका पदाधिकारीले मनोमानी गरेको भन्दै आक्रोसित अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् ।
विद्यालयमा शिक्षक नियुक्तिको विज्ञापनको सूचना सार्वजनिक नगरिकन गाउँपालिकासँगको मिलोमतोमा मोटो कमिशनका लागि प्रक्रिया अगाडि सारेकोले विद्यालयमा तालाबन्दी गर्नुपरेको अभिभावक उपेन्द्र यादवले जानकारी दिए । विद्यालय व्यबस्थापन समितिलाई मुद्दा दर्ता भई अदालतमा रिट चलिरहेको समयमा चोरबाटोबाट विज्ञापन प्रकाशित गरेको उनले आरोप लगाए ।
विद्यालयमा शिक्षक नियुक्तिको विज्ञापन गरेको थाहा पाएपछि सोबारे प्रधानाध्यापकलाई सुचना माग गर्दा भागेकाले तालाबन्दी गर्नुपरेको अर्का अभिभावक प्रकाश मण्डलले बताए । विज्ञापनबारे कसैले थाह नपाओस् भनी माघ २३ गते नै निर्णय गरिएको विज्ञापन माघ २६ गते विद्यालयको सूचना पार्टीमा टाँस गरेको अर्का अभिभावक पवन मण्डलले बताए ।
विद्यालयमा शिक्षक नियुक्तबारे बुझ्न गएका अभिभावकहरुले प्रधानाध्यापक बिपिन झाले समय दिन नमानेपछि उनको कार्यकक्ष तथा लेखा फाँटमा ताला लगाएका छन् ।
तिलाठी कोईलाडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेश झाले प्रक्रिया अनुसार नै शिक्षक नियुक्तको विज्ञापन गरिएको दावी गरे । विद्यालयले १३ बटा दरबन्दीमा शिक्षक नियुक्तिको माघ २३ गते स्थानीय पत्रिकामा विज्ञापन सार्वजनिक गरिएको दाबी गरिएपनि सो नभेटिएको अभिभावकहरुले जानकारी दिएका छन् ।