• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सितापुर कलौनीमा सडक निर्माणको कार्य अबरुद्ध

आक्रोशित स्थानीयबासीद्वारा चाईना रेल्वे कम्पनीको सवारी साधन नियन्त्रणमा
सितापुर कलौनीमा सडक निर्माणको कार्य अबरुद्ध

न्यूज टुडे
राजविराज, २७ माघ ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ स्थित सितापुर कलौनीमा स्थानीयबासीद्वारा सडक निर्माणको कार्य अबरुद्ध गरेको छ । चौकमा ६ लाईनको सडक निर्माणको माग गर्दै उनीहरुले बिहीबार विहान ६ बजेदेखि सडक निर्माणको कार्यमा अबरुद्ध गरेको हो ।

चौकमा बसपार्कसहितको ६ लाईनको सडक निर्माण गर्नुपर्ने लगायतका बिभिन्न मागसहितको प्लेकार्ड लिएर सडक प्रदर्शनमा उत्रिएका स्थानीयबासीले चाईना रेल्वे कम्पनीका दर्जनौं सवारी साधानलाई नियन्त्रणमा लिएका छन् । स्थानीयबासीको आन्दोलनका कारण सडक निर्माणको कार्य ठप्प भएको छ ।

गाउँपालिका अगाडि घर्ना बसेका स्थानीय स्थानीयबासीहरु । फोटो ः न्यूज टुडे

स्थानीयको अबरुद्धका कारण ३ दर्जन सवारी साधन र सयौं मजदुरहरु सडकमा अलपत्र परेका छन् । सडक विभाग लगायतका सम्बन्धित निकायमा डेलिकेशनसहित पटक–पटक ज्ञापन–पत्र बुझाउँदा समेत सुनुवाई नभएपछि आन्दोलनमा उत्रनु बाध्य भएको बजार ब्यबस्थापन समितिका अध्यक्ष मिलन चौधरीले बताए ।

सप्तरीकै पुरानो चौक रहेको कलौनी बजारमा केही ब्यक्तिको स्वार्थका कारण बदनियतपूर्वक ६ लाईन सडक निर्माण कटौती गरेको छ, अध्यक्ष चौधरीले भने, गाउँपालिकाको कार्यालय, स्वास्थ्य चौकी, डिभिजन वन कार्यालय, पशुस्वास्थ्य कार्यालय, सशस्त्र प्रहरी बल सहितका दर्जनौं सरकारी कार्यालय भएको बजारमा ६ लाईनको सडक नहुनु दुर्भाग्यपूर्ण छ ।

बजारमा ६ लाईनको बाटो निर्माणमा स्थानीय सरकार समेत उदासिन रहेको साविक सितापुर गाविसका उपाध्यक्ष योगेन्द्र प्रसाद चौधरीले आरोप लगाए । गाउँपालिकालाई सार्ने नियतले जनप्रतिनिधिहरुको मिलोमतोमा ६ लाईनको सडक र बस बिसौनी बनाउन नचाहेको उनको भनाई छ ।

स्थानीयबासीले गाउँपालिका अगाडि धर्ना बसेर गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । स्थानीयको अबरुद्धका कारण जनप्रतिनिधि र कर्माचारीहरु कार्यालय प्रबेश गर्न नपाउँदा गाउँपालिकाको कामकाज समेत ठप्प भएको छ । स्थानीय सरकारलाई समेत ६ लाईन सडक निर्माण गर्न पहलका लागि आग्रह गर्दा समेत चासो नदिएकाले गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई प्रवेशमा रोक लगाएको स्थानीय यूवा नेता श्याम कुमार चौधरीले बताए ।

आजको सांकेतिक आन्दोलन भएको बताउँदै स्थानीयहरुले शान्तिपूर्ण रुपले माग सुनुवाई नभए पूर्व–पश्चिम राजमार्ग अबरुद्धसहित गाउँपालिकामा अनिश्चितकालिन तालाबन्दी गर्ने लगायतका सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

आन्दोलनमा गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले भोली सडक डिभिजनका आयोजना प्रमुख निरज शर्मालाई बोलाएर समस्या सामाधान गराउने प्रतिबद्धता जनाएपछि स्थानीयले भोलि माघ २८ गते ११ बजेसम्मको लागि आन्दोलन स्थगित गरेको स्थानीय हरि प्रसाद चौधरी जानकारी दिए ।