• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

आदिबासी जनजाती सशक्तिकरणका लागि मधेश सरकार प्रतिबद्ध छ ः अर्थ मन्त्री साह

आदिबासी जनजाती सशक्तिकरणका लागि मधेश सरकार प्रतिबद्ध छ ः अर्थ मन्त्री साह

न्यूज टुडे
जनकपुर, २५ माघ ।
मधेश प्रदेश सरकारका प्रबक्ता एवम् अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले आदिबासी जनजाती समुदायको सशक्तिकरणका लागि मधेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरमा मंगलबार आयोजित नेपाल आदिबासी जनजाती महासंघ मधेश प्रदेश समवन्य परिषद्को प्रथम अधिबेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री साहले सामाजिक न्याय, सबैखाले उत्पिडन र विभेद विरुद्धको आन्दोलनबाट मधेश सरकार स्थापना भएको बताए । मधेश सरकार आदिवासी जनजातिसहित राज्यको मूल प्रवाहबाट बञ्चितहरुको प्रतिनिधित्व गर्ने सरकार हो, मन्त्री साहले भने, आदिवासी जनजातिलाई राज्यको हरेक निकायमा सहभागीता गराउन सरकार तत्पर छ । मन्त्री साहले अधिकार प्राप्तिको लडाई अझै जारी रहेको बताए । मधेश विद्रोह, आदिबासी, थारुसहितको पहिचानको आन्दोलनका बलमा थोरै भएपनि उपलब्धि हासिल भएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले अधिकार सुनिश्चितताको लागि सम्पूर्ण उत्पीडित जातिसमुदायहरु एकताबद्ध भएर आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

ब्यबस्था परिवर्तनको लागि आदिबासी जनजाति समुदायले गरेको योगदानको चर्चा गर्दै मन्त्री साहले आदिबासी जनजाति समुदायको सशक्तिकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । आदिबासी जनजातिको उत्थान र विकासको लागि आदिवासी जनजाति सशक्तिकरण विधेयक ल्याउन सरकार तयार रहेको भन्दै मन्त्री साहले त्यसका लागि आदिबासी जनजाति महासंघलाई सरकारको ध्यानाकर्षण गराउन आग्रह गरे ।

नेपाल आदिबासी जनजाती महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले आदिवासी जनजातिको हक अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिए । आदिबासी जनजातीहरुलाई सरकारले हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै उनले पहिचान, अधिकार, समानुपातिक प्रतिनिधित्व लागि अझै संघर्षको आबश्यकता औलाए । मधेश प्रदेश सरकारका वन तथा पर्यटन विकास पूर्व राज्यमन्त्री शुरेश कुमार मण्डलले आदिबासी जनजातिको उत्थानका लागि मधेश सरकारको ध्यानाकर्षण गराए । उनले आदिवासी जनजातिहरुलाई अगाडि बढाउन आदिवासी जनजाति मधेश प्रदेश उत्थान प्रतिष्ठान बनाउनुपर्नेमा जोड दिए । उनले पहिचान, अधिकार र प्रतिनिधित्वको आन्दोलनमा सँगसँगै विद्रोहमा आदिबासी जनजातिहरुले सहभागी जनाएपनी मधेश सरकारले आदिबासीलाई उपेक्षा गरेको आरोप लगाए ।

नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष गोविन्द छ्न्त्यलले देशका शासकवर्गहरुले आदिवासी जनजातिलाई गर्ने व्यबाहार विभेदकारी रहेको बताए । उनले राज्यको पुर्नसंरचनासँगै शासकबर्गहरुको सोचको संरचनामा पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए । नेपाल आदिबासी जनजाति महासंघ मधेश प्रदेश समवन्य परिषद्का अध्यक्ष मनोज सिंह दनुवारको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य सरस्वती चौधरी, नेपाल तामाङ घेदुङ मधेश प्रदेशका अध्यक्ष यमलाल गोले, ईन्सेक प्रतिनिधि राजु पासवान, नेपाल आदिबासी जनजाति महासंघ बाराका अध्यक्ष रामदास धजु, राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ धनुषाका अध्यक्ष श्याम कुमारी लामा, निलहिरा समाज ब्वुडाईमण्डको संस्थापक अध्यक्ष प्रदिप यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

नेपाल आदिबासी जनजाति महासंघ धनुषाका अध्यक्ष जमुना भुजेलद्वारा संचालित कार्यक्रममा स्वागत मधेश प्रदेश उपाध्यक्ष कमल पिठाकोटे मगरले गरे । अधिबेशनले आगामी ३ बर्षेकार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने तथा नीति कार्यक्रम ल्याउने जनाएको छ ।