न्यूज टुडे
राजविराज, २३ माघ ।
तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व २८५८औं सोनाम ल्होछार (ताक ल्हो) ज्ञानको उपदेशकर्ता महामन्जुश्रीको पूजा आराधना गरी टीका सम्पन्न गरिएको छ । माघ शुक्ल प्रतिपदा सोनाम ल्होछारको पहिलो दिन कूलदेवताको पूजा गरी प्रसादको रुपमा लगाईने टीका पाँच दिनपछि महामन्जुश्रीको पूजा आराधना गरी (आज) आइतबार बिधिवत रुपमा सम्पन्न गरिएको हो ।

तामाङ समुदायले ल्होछारको शुभसाईतमा लगाएको टीका महामन्जुश्री तिथि वसन्त पञ्चमी अर्थात पृथ्वीको पहिलो खगोलशास्त्री चौरासी हजार धर्म देशना गर्नुहुने ज्ञानको उपदेशकर्ता बोधिसत्व मन्जुश्रीको पूजा आराधना गरी ल्होछारको टीका सम्पन्न गरिएको नेपाल तामाङ घेदुङ सप्तरीका सचिव सुर्यमान तामाङले बताए ।
पाँच दिनसम्म मान्यजनहारुको हातबाट टीका, खादा लगाएर आशिर्बाद थापी मनाईने ल्होछारको टीका (ज्याम्यङ) महामन्जुश्रीको घरघरमा पूजा गरी टिकाको कार्यक्रम बिधिवत रुपमा सकिएको उनले जानकारी दिए । तामाङ समुदायले राष्ट्रिय पर्वको रुपमा मनाउने सोनाम ल्होछार पर्वमा आफन्तहरु भेला हुने मान्यजनहरुको हातबाट टीका खादा लगाई आशिर्बाद थाप्ने मिठो परिकार बनाएर खाने परम्परा रहेको छ ।
ल्हो अर्थात सम्बत फेरिने भएकोले तामाङ समुदायले ल्होछारलाई नयाँ बर्षको रुपमा पनि मनाउने गरेको नेपाल तामाङ घेदुङ सप्तरीले जनाएको छ । सोनाम ल्होछारको पाँचौ दिन ज्ञानका खानी बोधिसत्व मन्जुश्री बर्षमा किसानहरुले आ–आफ्नो जमिनमा बीउ रोप्ने मान्यता अनुसार हलो जोत्ने गरिन्छ । महामन्जुश्रीलाई बौद्ध धर्मावलम्बीलेहरुले ज्याम्यङ÷ज्यामवाङ याङ भनेर बोधिसत्वको रुपमा मान्ने गरेको नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य भिम घिसिङले बताए ।
२८५८ बर्ष अगाडि आजैको दिन महामन्जुश्रीले काठमाडौ उपत्यकाको चोभारमा पानी कटान गरेर शम्भुको दर्शन गरेको इतिहास रहेको उनले जानकारी दिए । त्यही शम्भुको पश्चिम पट्टीको डाँडामा मन्जुश्री गुम्बा रहेको छ जसलाई हिन्दू धर्मावलम्बीले सरस्वती मन्दिर मानेर बोली नफुटेका बालबालिका हरुलाई र बोल्न सक्ने बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने तथा दर्शन गराउने चलनको विकास भएको ईतिहासविदहरुको भनाई छ ।
हिन्दु धर्मावलम्बीले मान्ने सरस्वती बौद्ध धर्ममा ज्याम्याङ अर्थात ज्ञानका खानी बोधिसत्व मन्जुश्रीलाई मान्ने गरेको नेपाल तामाङ घेदुङका महासचिव मोहित कुमार घिसिङ (बाबू घिसिङले) बताए ।
आजैको दिन हिन्दू धर्मावलम्बीले विद्याकी देवी सरस्वतीको पूजा गरी श्रीपञ्चमी पर्व हर्सोउल्हासको साथ मनाएका छन् ।