न्यूज टुडे
राजविराज, २८ पुस ।
जिल्लाभरीका सरकारी कार्यालयको कामको अनुगमन गर्ने अधिकार प्राप्त जिल्ला प्रशासन कार्यालय सप्तरी यति बेला कर्मचारी अभावका कारण आफैं समस्यामा छ । दरबन्दीअनुसार कर्मचारीको पदपूर्ति नभएको, भएका कर्मचारीको पनि सरुवा भएपछि रिक्त स्थानमा अर्कोलाई नपठाएका कारणले उक्त कार्यालयको कामकाज प्रभावित हुँदै गएको हो ।
उक्त कार्यालयमा दुई नायव सुब्बा तथा तीन जना खरिदारको दरबन्दी रिक्त नै छ । तीन जना प्रशासकीय अधिकृतमा एक जनाका भरमा मात्र काम चलाउनु परिरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन् । पहिला दुई प्रशासकीय अधिकृत रहेकोमा ती मध्ये किशोर रामको अन्यत्र सरुवा भईसकेको छ । कार्यालयमा कल्पना मानन्धर एक मात्र प्रशासकीय अधिकृत उपलब्ध रहेकोमा अहिले उनी पनि विदामा बसेका कारण रामको सरुवा भएपनि रमाना पत्र नदिएर काममा लगाई कार्यालय सञ्चालन गर्नु परिरहेको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए ।
जिल्ला प्रशासन झैं जिल्लाका अन्य दुई ईलाका प्रशासन कार्यालयमा समेत कर्मचारीको अभाव छ । बोदेबर्साईनस्थित ईलाका प्रशासन तथा कञ्चनरुप ईलाका प्रशासन कार्यालयमा शाखा अधिकृत नरहेका कारण नायव सुब्बाको भरमा कार्यालय सञ्चालन गर्नु परिरहेको गौतमले बताए । यस्तै राजविराज कारागारमा पनि अधिकृतको पद रिक्त नै रहँदा नायव सुब्बाले कार्यालय चलाईरहेको उनले जानकारी दिए ।
कर्मचारी अभावका बारेमा केन्द्र समक्ष जानकारी गराउँदा पनि अहिलेसम्म कुनै व्यवस्था नभएको उनको कथन छ । कर्मचारीको पूर्तिकालागि हामीले केन्द्रसमक्ष धेरै प्रयास गरेका हौं, उनले भने, तर अहिलेसम्म कुनै व्यवस्था भएको छैन । सप्तरीमा संघ तथा प्रदेश मातहतका कार्यालयहरुमा कर्मचारी अभावले गर्दा सेवा प्रवाहमा कठिनाई हुने गरेको छ ।