सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा जनप्रतिनिधि बीचको विवाद पटक–पटक चर्किने गरेको छ । विकासीय दृष्टिले पछि परेको उक्त गाउँपालिकामा जनताका अनगिन्ती समस्या रहेको कुरालाई दृष्टिगत गरी जनप्रतिनिधिले काम गर्नुपर्ने बेलामा यस्तो अनपेक्षित विवाद चर्किएको हो ।
पछिल्लो चरणमा गाउँपालिका उपाध्यक्ष सुचिता कुमारी यादव आफैले गाउँपालिकामा तालावन्दी गरेकी छिन् । उनले प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाको कार्यकक्षमा तालावन्दी गरेकी हुन् । मागेको सूचना उपलब्ध गराउन प्रमुख प्रशासकीय अधिकृत झाले आलटाल गरेका कारण तालावन्दी गर्नु परेको उपाध्यक्ष यादवको कथन छ । आफु संयोजक रहेको राजस्व परामर्श समिति, बजेट तथा योजना समिति र सदस्य रहेको आर्थिक समितिको बैठक समेत नगरिएको, समिति तथा गाउँ परिषद्को निर्णय उपलब्ध गराउन प्रमुख प्रशासकीय अधिकृत झालाई पटक–पटक आग्रह गर्दा पनि होच्याउने व्यवहार गरेको उपाध्यक्ष यादवको आरोप रहेको छ । उपाध्यक्ष यादवले सूचना उपलब्ध नगराएसम्म तालावन्दी जारी रह्ने अडान लिएकी छिन् ।
उता गाउँपालिकाका सूचना अधिकृत राजेश कुमार झाले उपाध्यक्ष यादवले कर्मचारीमाथि यसअघि अभद्र व्यवहार गरेको भन्दै माफी नमागेसम्म उनलाई वहिष्कार गर्ने निर्णय यथावत रहेका कारण सूचना उपलब्ध नगराएको प्रतिक्रिया दिएका छन् । तिलाठीमा अध्यक्ष र उपाध्यक्ष पक्षका बीचको विवाद यसअघि पनि पटक–पटक चर्केकै हो ।
बाटोघाटोको अभाव, बाढीको समस्या लगायत अन्य विभिन्न समस्यालाई दृष्टिगत गरी विकासीय कामलाई गति दिनुपर्नेमा विवादमै अलमलिएर समय बिताउने कार्य शुभ संकेत होइन । यसमा दुवै पक्षले ध्यान दिन जरुरी छ ।