आज स्व.पत्रकार लोकेन्द्र स्मृति दिवस । सल्यानबाट पढाईकालागि आएका लोकेन्द्रले पढाईका साथै सप्तरीमा निर्भिक तरिकाबाट पत्रकारिता गर्दागर्दै उनको शंकास्पद अवस्थामा मृत्यु भएको थियो । आफ्नै डेरामा मृत अवस्थामा भेटिएका उनको मृत्युको विषय अहिले पनि शंकास्पद नै रहेको छ । उनको मृत्युको बारेमा निष्पक्ष छानबिनकालागि नेपाल पत्रकार महासंघ सप्तरीले पटक–पटक सरकारको ध्यानाकर्षण गराउने काम गर्दै आए पनि तीन दसक पुग्न लाग्दा समेत वास्तविकता जनसमक्ष आउन नसकिरहेको अवस्था छ ।
विपन्न परिवारमा जन्मेका भएपनि लोकेन्द्रले पढाईसंगै जोखिमपूर्ण पेशा पत्रकारितालाई अँगालेका थिए । पैसा कमाउन नसकेपनि समाजमा योगदान दिन सकिन्छ भन्ने उनको धारणा रहेको कुरा उनले रोजेको पेशाबाट नै छर्लंग हुन्छ । आफ्नालागि त सबैले सोच्लान् तर विकट पहाडी जिल्लामा जन्मेका लोकेन्द्रले पत्रकारिताकालागि सप्तरीलाई रोजेका थिए । उनले जागिर खान, पैसा कमाउन तथा बाबुआमालगायत परिवारजनको बारेमा सोच्न भन्दा पनि अन्यायमा परेका आम जनताकालागि पत्रकारिता पेशालाई अघि बढाएका थिए ।
पत्रकारिताको छोटो समयमा नै खोजमूलक तथा निर्भिक प्रस्तुतिका कारणले नै उनी पत्रकारकालागि आदर्श मानिएका हुन् । नेपाल पत्रकार महासंघ सप्तरीले उनको योगदानको सम्मानस्वरुप वर्षमा एक दिन भए पनि पुस २६ लाई लोकेन्द्र स्मृति दिवसका रुपमा मनाउने गरेको छ । आजका दिन उनको योगदानका बारेमा चर्चा मात्र गरिँदैन बरु सप्तरीलाई कार्यक्षेत्र बनाएर काम गर्ने एक जना पत्रकारलाई उत्कृष्ट, निर्भिक तथा खोजमूलक समाचार लेखेबापत लोकेन्द्र स्मृति पुरस्कारबाट सम्मानित समेत गरिँदै आएको छ ।
यस दिन लोकेन्द्रले देखाएको निर्भिकता तथा खोजमूलक पत्रकारिताका बारेमा जोड दिने गरिन्छ । उनीप्रति श्रद्धाञ्जली कार्यक्रम समेत गरिन्छ । तथापि स्व. पत्रकार लोकेन्द्रप्रति सच्चा श्रद्धाजलीकालागि त उनले परिकल्पना गरेको पत्रकारिताको मार्गरेखा समात्नु जरुरी छ । पत्रकारितामा निष्पक्षता, स्वच्छताका साथसाथै अन्यायमा परेकाहरुकालागि वाणी पनि जरुरी हुन्छ । पत्रकारितालाई आवाजविहीनहरुको आवाज यसै कारणले नै भन्ने गरिएको हो । यस पेशामा लागेपछि जोखिम पनि मोल्नु पर्ने हुन्छ ।
समाचार लेखेकै कारण अहिले पनि पत्रकारले प्रताडित हुनु पर्ने, धम्कीको सामना गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान नै छ । मुलुकमा ऐतिहासिक परिवर्तन आएपनि पत्रकारिताका समस्याप्रति सरकारले खासै चासो अहिले पनि दिएको देखिन्न । यही कारणले विशेष गरी मोफसलको पत्रकारितामाथि समस्याको डंगुर नै लागेको अवस्था छ । पत्रकारिताको विकासलाई पनि विकासको एक उदाहरण मान्ने प्रबृत्ति स्थापित नभएसम्म पत्रकारका समस्यामा कमी आउला भन्न सकिन्न । विशेष गरी यति बेला शहरीया भन्दा पनि ग्रामीणमुखी पत्रकारिताको आवश्यकता छ । त्यसो भएमा मात्र स्थानीय स्तरका समाचारहरु पनि उजागर हुने सम्भावना बढ्ने छ ।
पत्रकारितामा निर्भिकता नभएसम्म सधैं वास्तविक समाचार आउँछ नै भन्न सकिन्न । निर्भिकताकालागि स्व. पत्रकार लोकेन्द्रको मार्ग अबलम्बन गर्न सकियो भने नै वास्तविक समाचार जनताले पाउने छन् । लोकेन्द्र स्मृति दिवसका यस अवसरमा पत्रकारितामा निर्भिकता बढोस्, सरकारले पत्रकारका समस्यालाई ध्यान देओस् भन्ने कामनाका साथ स्व. लोकेन्द्र प्रति हाम्रो पनि हार्दिक श्रद्धाञ्जली । साभार ः सत्यापन