राजविराज, २४ पुस ।
प्रचण्ड–माधव समुहको नेकपाले बिहीबार सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी सहितको विरोध पत्र पठाएको छ । जिल्ला कमिटीका अध्यक्ष अमर मण्डल नेतृत्वमा पुगेको नेकपा नेताहरुको टोलीले प्रजिअमार्फत प्रधानमन्त्रीलाई यसरी विरोध–पत्र पठाएको हो ।
नेपालको संविधान अनुसार प्रतिनिधि सभाले विकल्प दिन सक्ने अवस्था रहेसम्म प्रधानमन्त्रीलाई जननिर्वाचित प्रतिनिधि सभा विघटन गर्न सक्ने वा विघटन गर्ने सिफारिस राष्ट्रपति समक्ष गर्न सक्ने अधिकार नरहेको भन्दै विरोध पत्रमा प्रधानमन्त्री तथा राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार विपरित प्रतिनिधि सभा विघटन गरेको कार्य संविधानको मर्म विपरीत रहेको उल्लेख गरिएको छ ।
यसअघि ०४७ सालको संविधानमा संसद विघटन गर्न सक्ने विषेश अधिकार प्रधानमन्त्रीमा रहेका कारण मुलुक पटक–पटक अस्थिर भएका कारण तपाईं समेत सम्मिलित संविधान सभाबाट संसदीय प्रणालीलाई व्यवस्थित एवम् टिकाउ वनाउने उद्देश्यले वर्तमान संविधानमा संसद विघटनसम्बन्धि परिकल्पना नै गरिएको अवगत गराउँदै पत्रमा भनिएको छ, ‘संसद विघटनको निर्णाय अलोकतान्त्रिक र असंवैधानिक रहेका हुँदा सचेतनापूर्ण अनुरोध गर्दै यस निर्णायलाई फिर्ता लिन र प्रतिनिधि सभाको अधिवेशन यथाशिघ्र बोलाएर संसदीय मर्यादा कायम गर्दै विधिको शासन पुर्नस्थापित गर्न अनुरोध गर्दछौ ।’
आफुहरुले विरोध–पत्रमार्फत गरेका मागहरुलाई वेवास्ता गरिए यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल सरकार र प्रधानमन्त्री स्वयं हुने चेतावनी समेत पत्रमा दिईएको छ । विरोध–पत्र बुझाउन गएको टोलीमा जिल्ला अध्यक्ष मण्डलसँगै जिल्ला सचिव तथा प्रदेश सभा सांसद गोविन्द न्यौपाने, युवा नेता महेशप्रसाद यादवलगायतकाहरुको समेत उपस्थिति रहेको थियो ।