• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कुख्यातहरुको किर्ते कनेक्शन

किर्ते नागरिकता लिएर ब्राउन सुगरको कारोबार
कुख्यातहरुको किर्ते कनेक्शन

राजविराज, २४ पुस ।
०७७ मंसिर १९ गते सुनसरीको धरानमा राजकुमार सिंह नामक व्यक्ति ७७ ग्राम ब्राउन सुगरसहित पक्राउ परे । सिंहको ड्राईभिङ्ग लाईसेन्स, नागरिकतालगायतका कागजातहरुको प्रारम्भीक अनुसन्धानबाट उनी नेपाली नागरिक नै रहेको तथ्य खुल्यो । यद्यपि उनको नागरिकतामा सप्तरीको तात्कालिन पकरी गाविस–२ भनि ठेगाना देखिएपछि त्यसबारे खोजि थाल्दा सिंहको नागरिकता नै किर्ते रहेको रहस्य उजागर भयो ।

सप्तरीको पकरीमा शुरुदेखि हालसम्म एक घर पनि सिंह(राजपुत) जातिको बसोबास रहेको छैन । ‘अनि कसरी भए त सिंह सप्तरीको पकरी निवासी ?’ पछि उनको नागरिकता नम्बरसहित खोज्दै जाँदा जिल्ला प्रशासन कार्यालय सप्तरीले सिंहको सवारी चालक अनुमतिपत्रमा उल्लेखित (२÷०७३९३११३) नम्बरको नागरिकता यहाँबाट जारी नै नभएको स्पष्ट पा¥यो ।

पछिल्लो समय पूर्वी नेपालको झापादेखि सुनसरी सप्तरी हुँदै पश्चिमको नेपालगंज सम्ममा ब्राउन सुगरसहित धमाधमा अभियुक्तहरु पक्राउ परिरहेका घटनाहरुले समेत ब्राउन सुगरको कारोवारमा भारतीय नागरिकहरुको कनेक्शन र संगठित संजाल नै रहेको तथ्य समेत प्रहरी अनुसन्धानहरुवाटै खुलिरहेको छ ।

आफ्नो देशमा अपराध गरी त्यहाँका प्रहरी पशासनलाई छलेर नेपाल प्रवेश
गरेको तथा किर्ते नेपाली नागरिकता लिएर नेपालमा गैर कानुनी गतिविधि गर्ने
आरोपमा पक्राउ परेकाहरुको सूचीमा पछिल्लो पटक भारत विहारको भिमनगर
निवासी राजकुमार सिंहको नाम पनि जोडिएको छ । यसअघि कुख्यात बंगलादेशी
आतंकी सुब्रत बेन, भारतीय अपराधी धिरेन्द्र यादव, सुभाष झा, बमबम यादव
लगायतकाहरु यसरी नै नेपालमा पक्राउ परेका थिए ।

नेपाल प्रहरीका उच्च अधिकारीदेखि अनुसन्धान अधिकृतसम्मको भनाई अनुसार ब्राउन सुगरको कारोबार भारतमै हुने गरेको तथा नेपालतर्फ यसको प्रयोगकर्ता मात्रै रहेको तथ्य स्पष्ट हुन्छ । गाँजा, चरेसको कारोबारी नेपालमा हुने तथा प्रयोगकर्ताहरु भारत तिर हुनेगर्छन अर्थात गाँजा चरेस नेपालबाट भारततर्फ तस्करी हुने र ब्राउन सुगरको कारोबार भारतमा हुने तथा त्यसको प्रयोगकर्ता नेपालमा हुने भएकोले भारतबाट नेपालमा ब्राउन सुगर भित्रयाउने खेल खुला सिमानामार्फत भईरहेको छ ।

यस कार्यमा अधिकांश भारतीयहरु नै ठुलो कारोवारीको रुपमा सीमा क्षेत्रमा सक्रिय रहेको तथा भरियाका रुपमा नेपालीहरुलाई प्रयोग गर्ने गरेको स्रोत बताउँछन् । ब्राउन सुगरसहित पक्राउ परेका भारतीय नागरिक राजकुमार सिंह पनि त्यस्तै कारोवारमा संलग्न रहेको प्रहरी स्रोतको दावि छ । सिंहको किर्ते नेपाली नागरिकता, किर्ते नागरिकताकै आधारमा उनले सुनसरीको इनरुवामा संचालन गरेको कपडा पसल र सिंहको नाममा नेपालमा रहेको करौडौको अकुत सम्पत्ति विवरणले समेत ब्राउन सुगर कारोबारमा सिंहको संलग्नता पुरानै रहेको भनि पुष्टि गर्ने आधार रहेको उनलाई नजिकबाट चिन्नेहरुको बुझाई छ ।

पारी भारतमा आपराधिक पृष्ठभूमिका कारण नेपाली नागरिक भएर नेपाल छिरेका सिंह नेपालमा दोश्रो विवाह समेत गरेका रहेछन् । भारत विहारको सुपौल जिल्लाअन्तर्गत पर्ने भिमनगरका उनी मूल बासिन्दा हुन् । भिमनगर नेपाल भारत सीमा क्षेत्रमै रहेको छ । सुनसरीको भण्टावारीसँग भिमनगरको सीमाना जोडिएको छ । सिंहले भण्टावारी क्षेत्रमै दोश्रो विवाह पनि गरेका रहेछन् । वारी घर पारी ससुराली अनि त्यसमाथि किर्ते नेपाली नागरिकता यी तीन वटै कुरा भएपछि सिंहलाई नेपालमा आफ्नो कारोवार बढाउन सहज भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

बिहारको सुपौल जिल्लाअन्तर्गत बसन्तपुर प्रखण्डको भिमनगर पंचायतका बासिन्दा रहेका सिंहको नाममा ३२०८२९७२१८५६को भारतीय आधार कार्ड समेत जारी रहेको छ । यसैगरी त्यहाँको मतदाता नामावलीमा समेत सिरियल नम्बर ११६ मा रामवालक सिंहको छोरा राजकुमार सिंह उल्लेख रहेको छ । सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल परेका थिए । उनी जेलबाट रिहा भएपछि अन्य मुद्दामा समेत समातिने डरले नेपाल प्रबेश गरेको हो ।

कुख्यातहरुस“ग नेपाली किर्ते नागरिकता
आपराधिक गतिविधिमा समातिएपछि नक्कली नागरिकताको रहस्योद्घाटन भएको राजकुमार सिंह पहिलो व्यक्ति होईन् । ०७३ साउन २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट समातिएका भारतीय नागरिक रईस मियाँसँग मोहम्मद मुस्तकिमको नाममा नेपाली राहदानी फेला परेको थियो । मियाँमाथि सप्तरी र सुनसरी गरी सात जनाको हत्यामा संलग्न रहेको आरोप छ । अनुसन्धान गर्दै जाँदा अभियुक्तको साथबाट तीन थान छुट्टा छुट्टै राहदानीहरु फेला परेको थियो । ती राहदानीहरुमा सप्तरी, सुनसरी र सिराहा जिल्लाको ठेगाना रहेको प्रहरी स्रोतको दावि छ ।

कुनै वेला इन्टरपोलबाट रेड कर्नर नोटिस जारी रहेका बंगलादेशी आतंकी सुब्रत बेन नेपालमा असरफ अलि अन्सारीको नामबाट नागरिकता र राहदानी लिएका थिए । सुनसरीको सिमरिया–५ बाट नेपाली नागरिकता लिएका बेन बंगलादेशका ‘कुख्यात’ अपराधी हुन । सन् २००८ मा बंगलादेश सरकारले भारत सरकारलाई बुझाएको आफ्नो मुलुकका २३ कुख्यातहरुको सूचीमा वेनको नाम समेत रहेको थियो । बेनमाथि हत्या हिंसाका दर्जनौ मुद्दा रहेको छ । अन्तरराष्ट्रिय आतंकि संगठनहरुसँग समेत बेनको साँठगाँठ रहेको आरोप रहेको छ । सन् २००५ मा बंगलादेशको ढाका स्थित बंगबन्धु एभेन्यूमा आयोजित एक ¥यालीमा ग्रिनेड हमला गरेको आरोपमा बंगलादेशका सुरक्षा निकायले बेनलाई मस्टवाण्टेड सुचिमा राखेका हुन् । उनीमाथि १५ लाख रुपैयाँको इनाम समेत बंगलादेश सरकारले घोषणा गरेका थिए । झुम्का कारागार तोडेर फरार भएका बेन त्यसको एक महिना पनि नवित्दै भारतको कलकत्तामा फक्राउ परेका थिए ।

बेनसँगै झुम्का जेलबाट भाग्न सफल भएका भारतीय कुख्यात अपराधी धिरेन्द्र यादव सप्तरी र सुनसरीको छुट्टा–छुट्टै दुई गाविसबाट फरक–फरक नाममा नेपाली नागरिकता लिएका छन् । नेपाली भूमीमा बसेर अपराधिक क्रियाकलाप गर्न सजिलै हुने दृष्टिले नेपालका दुई जिल्लाबाट उनले नेपाली नागरिकता लिएका हुन् । भारतको बिहार राज्यअन्तर्गत पर्ने सुपौल जिल्लाको चिकनीपट्टी निवासी यादवले १२ फागुन २०६७ मा खटिएको नागरिकता टोलीबाट सप्तरीको वभनगामा कट्टी गाविस–२ र सुनसरीको पश्चिम कुशाहा गाविस–१ बाट गरी दुई वटा नेपाली नागरिकता लिएका छन् । यादवले सप्तरी बभनगामा कट्टी–२ निवासी शंकर यादवलाई बुवा मानेर महावीर यादवको नामबाट नेपाली नागरिकता लिएका छन् भने सुनसरीको पश्चिम कुशाहा–१ निवासी महेश यादवको नामबाट नागरिकता लिएका हुन् ।

धिरेन्द्र उपर फरबिसगंजको गोल्छा हत्या काण्ड, राघोपुरको विपिन चौधरी हत्याकाण्ड लगायत २३ वटा आपराधिक मुद्दाहरु भारतमा रहेका छन् । नेपालमा भने कृषि विकास बैंक राजविराजका तत्कालिन प्रबन्धक विक्रमप्रसाद साहको हत्या तथा ३० लाख लुटपाट गरेको आरोपमा उनी जेल चलान भएका थिए । सन् २००८ मा नेपाल प्रहरीले सुनसरीको इटहरीस्थित रोयल रिसोर्टबाट धिरेन्द्रलाई पक्राउ गरेको थियो ।

सीमापारी बिहार राज्यको सुपौल जिल्लाअन्तर्गत पर्ने सितापुर गाउँ निवासी सुभाष झाको नामले उक्त क्षेत्रमा अहिले पनि त्रास हुने गर्छन् । हत्या, अपहरण, लुटपाल, फिरौतिलगायतका मुद्दामा भारतीय प्रहरीको दवाव थेग्न नसकेर नेपाल छिरेका उनी सुनसरीको हरिपुर गाविसबाट हरिशचन्द्र झाको नाममा नेपाली नागरिकता प्राप्त गरे । नक्कली नागरिकताकै मुद्दामा झुम्का कारागारमा रहेका झा सुब्रत बेन, धिरेन्द्र यादवलगायतकाहरुसँग भाग्न सफल भएका थिए । झाले दिनेश झाको नाममा समेत नेपाली नागरिकता लिएको आरोप छ । यद्यपि उक्त तथ्यबारे खासै खुल्न सकेको छैन ।

त्यस्तै भारत बिहार राज्यको सुपौल जिल्लाअन्तर्गत पर्ने त्रिवेणीगंजका बासिन्दा बमबम यादव उपर हत्या, अपरहण, लुटपाट लगायतका १७ वटा मुद्दा भारतमा मात्रै रहेका छन् । उनी धिरेन्द्र यादवका निकटस्थ मानिन्छन् । झुम्का कारागारबाट भाग्नेहरु मध्यै उनी पनि एक हुन् । उनीसँग पनि नेपाली नागरिकता रहेको छ ।

नेपाली नागरिक जतिसुकै वेला पनि सहज रुपमा भारत आवत जावत गर्न सक्छन्, चाहेको वेला विनाकुनै रोकटोक भारतको जुनसुकै सहरमा बस्न पाउँछन् तर पाकिस्तानी, बंगदादेशी वा अन्य विदेशीको हकमा भने भारत सरकारले उक्त सुविधा दिएको छैन । त्यसैले भारतमा आतंकी गतिविधि सञ्चालन गर्न पाकिस्तानी तथा बंगलादेशी आतंककारीहरु नेपाली नागरिकता र राहदानी लिन उपयुक्त ठान्ने गर्छन् ।

भारतीय, बंगलादेशीलगायतका विदेशी नागरिकहरुले पछिल्लो समय नेपाली नागरिकता प्राप्त गर्न सप्तरी, सुनसरी जस्ता जिल्लाहरुलाई निकै सहज रुपमा प्रयोग गर्दै आएका छन् । जिल्ला प्रशासन तथा स्थानीय तहका कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पारेर उनीहरुले नेपाली नागरिकता लिने गरेको प्रहरीकै दावी छ । राज्यको निरीहताका कारण कुख्यात अपराधीहरु अचेल सप्तरी, सुनसरी जस्ता भारतीय सीमानासँग जोडिएका जिल्लाहरुलाई नेपाली नागरिकता र राहदानी पाउन सहजै प्रयोग गर्दै आएका हुन् ।