• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

एसएसबीको जबरदस्तीले शुरु नहुँदै रोकियो खडग पुल निर्माण

नेपाली सीमामा भारतीय हस्तक्षेप
एसएसबीको जबरदस्तीले शुरु नहुँदै रोकियो खडग पुल निर्माण

राजविराज, २३ पुस ।
हुलाकी राजमार्गअन्तर्गत सप्तरीको डाकनेश्वरी नगरपालिका–६ कटैयास्थित स्थानीय खड्ग नदीमा निर्माण हुन लागेको पुल भारतीय सीमा सुरक्षा बल एसएसबीले रोकेको छ । हुलाकी राजमार्गको सप्तरीस्थित कठौना–पातो–कटैया सडक खण्डअन्तर्गत उक्त पुल निर्माण हुन लागेको हो ।

भारतीय एसएसएबीले सीमा क्षेत्रमा आफुहरुको अनुमति बगैर काम गर्न नपाउने भन्दै उक्त काम रोकेको हो । यद्यपि नेपाल भारत सीमा छुट्टयाउन गाडिएको सीमा स्तम्भ(पिलर) भन्दा झण्डै १ सय ९५ मिटर टाढा नेपालतर्फ उक्त पुल निर्माण हुन लागेको हो ।

एसएसबीले आफूहरुलाई माथिल्लो निकायबाट निर्देश नआएसम्म पुल निर्माण गर्न नदिने बताएको हुलाकी आयोजनाका इन्जिनयर आशुतोष कर्णले बताए । ‘पिलर भन्दा १ सय ९५ मिटर नेपालतर्फ पुल निर्माणस्थल छ,’ इन्जिनयर कर्णले भने, ‘जबरजस्ती एसएसबीहरुले पुल निर्माण गर्न नदिने भएपछि निर्माण कार्य सुरु हुन नपाउँदै रोकिएको छ ।’

२०७६ साल माघ ८ गते उक्त पुल निर्माणका लागि काठमाडौंको इलाइट कम्पनीसँग सम्झौता भएको थियो । १८ करोड ३३ लाख रुपैयाँको लागतमा निर्माण हुने सो पुल निर्माण गर्न ३० महिनाको समयावधि तोकिएको छ । सम्झौता भएको झण्डै एक वर्ष पछि पुल निर्माणकालागि निर्माण स्थलमा पुगेका ठेकेदार तथा योजनाका अधिकारीहरु काम रोकिएपछि आफ्नो माथिल्लो निकायहरुलाई गुहारी रहेका छन् भने स्थानीयहरुमा निराशा र आक्रोश देखिएको छ ।

‘हामीलाई हाम्रो देशको माथिल्लो निकायबाट लिखित अर्डर चाहियो भन्दै एसएसबीले लिखित अर्डर नआएसम्म काम हुन दिदैनौ भन्छन्,’ इन्जिनयर कर्णले भने, ‘एसएसबीले हामी बोर्डरमा छौं बोर्डर नजिक हाम्रो कन्सर्न बिना कुनै निर्माण कार्य हुन दिँदैनौं ।’ पुलको डिजाइन गर्न गएकै बेला पनि आफूहरुलाई एसएसबीले रोकेको इन्जिनियर कर्णको भनाई छ ।

यता सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले पुल निर्माणमा एसएसबीले अवरोध गरेपनि आफूले स्थलगत अवलोकन गरेको बताए । उनले भने, ‘हामीले स्थलगत अवलोकन ग¥यौं, पुल निर्माण स्थल हाम्रै भूमीमा छ तैपनि उनीहरु निर्माण हुन नदिने भन्दै रोकेका छन ।’ सीमावर्ती बिहार जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेटलाई आफूले लिखित रुपमै पत्राचार गरि अवरोध बारे बताएपनि उनले पनि माथिल्लो निकायको आदेश आए मात्र आफूले केही भन्ने बताएको प्रजिअ आचार्यले बताए । ‘दुवै देशको संयुक्त टोली आएर नापी गर्नुपर्ने भन्दै अवरोध गरिइरहेका छन्,’ प्रजिअ आचार्यले भने, ‘सबै विषयबस्तु माथिल्लो निकायमा जानकारी गराइसकेको छु ।’

इन्जिनयर कर्णले आफूहरुले पनि भौतिक पूर्वाधार मन्त्रालयमा पुल निर्माणको अवरोधबारे जानकारी गराउन लागेको बताए । जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतीय पक्षसित पहल गरी पुल निर्माणको अवरोध हटाउनुपर्ने बताए ।

इन्जिनियर कर्णका अनुसार ११२ मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पुल बनाउने तयारी छ । पुल बनाउने भनेर पारी भारतीय गाउँ करियौर र नेपालतर्फका कटैयाका बासिन्दाका बीचमा छलफल हुँदा पुल बनाउने सहमति दिइएको बताउँदै कर्णले त्यही अनुसार नेपाल सरकारले ठेक्का लगाएको बताए ।