• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

बल्ल बन्ने भयो को मधेपुरामा वडा कार्यालय

बल्ल बन्ने भयो को मधेपुरामा वडा कार्यालय

राजविराज, २३ पुस ।
बर्षौदेखि गाईगोठ जस्तै फुसको झुप्रोमा संचालित सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर–६ (को.मधेपुरा)को वडा कार्यालय भवन निर्माण हुने भएको छ । फुसको सानो झुप्रोमा पछिल्लो झण्डै तीन वर्षदेखि भाडामा वडा कार्यालय संचालनमा रहेको छ ।

कार्यालय संचालन तथा व्यवस्थापन समेत प्रभावकारी नभई रहेको हुँदा स्थानीय जनप्रतिनिधि एवम् सर्वसाधारणहरुको तर्फबाट त्यहाँ व्यवस्थीत वडा कार्यालय बनाउने माग हुँदै थियो । सोहीअनुरुप उक्त वडामा गाउँपालिकाले वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन एकै साथ बनाउने योजना अघि सारेको हो ।

बुधबार मात्रै वडा कार्यालय र स्वास्थ्य चौकी भवनको एकै साथ शिलान्यास गरिएको तिलाठी कोईलाडी गाउँपालिका कार्यालयले जनाएको छ । बुधबार एक कार्यक्रम बीच राष्ट्रिय सभाका सदस्य शेखरकुमार सिंहले वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका छन् ।

वडा कार्यालयको लागि दुई कठ्ठा जग्गा गाउँपालिकाबाट खरीद गरिएको र बहुबर्षिय योजनाअन्तर्गत निर्माण कार्य थालिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी गराए । यसैगरी स्वास्थ्य चौकीको भवन समेत बहुबर्षीय योजनाअन्तर्गत सञ्चालन गरिने र सोको लागि चालु आर्थिक बर्षमा २५ लाख रुपैयाँ विनियोजित गरिएको अध्यक्ष सिंहले बताए ।

सो शिलान्यास कार्यक्रममा वडा अध्यक्षहरु गोबिन्द यादव, खगेन्द्र मण्डल, गुलाबप्रसाद सिंह, गोपी मण्डल, लक्ष्मीप्रसाद मण्डल, कार्यपालिका सदस्य उमेश राय तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । हाल वडा कार्यालय र स्वास्थ्य चौकी भवन दुबै भाडामै संचालन रहेको छ ।