• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सरकारले कोरोनाका कारणले बन्द रहेका विद्यालय सञ्चालनको अनुमति दिएको छ । लामो समयसम्म बन्द रहेका विद्यालयमा ठूलो संख्यामा एकै पटक विद्यार्थी पढ्न जाँदा तिनको स्वास्थ्य सुरक्षाका सबालमा विशेष ध्यान दिनु पर्ने आवश्यकता छ ।

कोरोना संक्रमणको जोखिम अहिले पनि कायमै छ । तथापि भौतिक उपस्थितिकासाथ विद्यालय चलाउने सरकारले अनुमति दिएपनि विद्यालयले यस्ता स्वास्थ्य सतर्कताका सबालमा अहिले पनि गम्भीरताका साथ ध्यान दिनु पर्ने अवस्था कायमै छ । विद्यालयमा विद्यार्थीका साथै शिक्षक तथा अन्य कर्मचारीको समेत उपस्थिति रहन्छ । यसले गर्दा सामाजिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने, सबैले मास्क लगाउने, सेनिटाईजरको प्रयोग गर्ने लगायतका सबालमा विशेष चासो देखाउन जरुरी छ ।

विद्यालयमा विद्यार्थीको उपस्थिति बढी होस् भन्ने हरेक विद्यालय सञ्चालकको चाहना रहन्छ । विद्यार्थी बढी भएमा नै विद्यालयको आम्दानी पनि बढी रहने गरेका कारणले यस्तो चाहना रहनु अस्वाभाविक नहोला । यसका बाबजुद पनि विद्यार्थी संख्या मात्रै बढाउने लक्ष राखियो भने आगामी दिनमा त्यहाँ कोरोनाको संक्रमण व्यापक रुपमा नफैलेला भन्न सकिन्न । त्यसैले पहिला विद्यालयमा स्वास्थ्य सुरक्षाका सबालमा विद्यालय प्रशासनले अपनाउनु पर्ने साबधानीको तयारी गरेपछि मात्र विद्यार्थीलाई प्रवेश गराई सुरक्षित तबरले पढाई सञ्चालनको व्यवस्था मिलाउन सकियो भने मात्र त्यो उत्तम उपाय हुन सक्दछ ।

विद्यालयले सञ्चालन गर्ने गरेको गाडीमा पनि कोचमकोच गरेर विद्यार्थी ओसार्ने गरेको देखिन्छ । धेरै ठाउँबाट चढ्ने विद्यार्थीका कारण एकापसमा कोरोनाको संक्रमण फैलिन नपाओस् भन्नेमा पनि सतर्कताको यति बेला आवश्यकता छ । सरकारले विद्यालय खोल्ने अनुमति दिएको भए पनि स्वास्थ्य सतर्कतालाई बेवास्ता गर्न भने कदापि मिल्दैन । विद्यालयमा वालवालिकाको स्वास्थ्य सुरक्षाका विषयमा कस्तो व्यवस्था मिलाईएको छ भन्ने विषयमा स्थानीय तहका जनप्रतिनिधि, अभिभावक तथा सरोकारवाला सबैले जानकारी लिने गरेमा लापरवाहीको गुञ्जाईस पनि कमै रहनेछ ।

विद्यालय खोल्ने अनुमति दिँदैमा अवस्था पहिलेको जस्तो सहज भयो भन्ने सोचियो भने त्यो भूल हुन सक्दछ । उत्साहका साथ विद्यालयमा पढ्न गएका वालवालिका तथा पढाउन गएका शिक्षक कोरोनाबाट संक्रमित भएर विरामी बन्ने अवस्था आयो भने त्यो अवश्य पनि दुःखद् पक्ष बन्ने निश्चित छ ।

त्यसैले समयमै यस्ता विषयमा साबधानी अपनाउन सकियो भने नै यस प्रकारको दुःखद् अवस्थाबाट पार पाउन सकिने छ । रोग लागेपछि उपचारतिर लाग्नुभन्दा रोगै नलागोस् भन्नेतिर लागेर साबधानी अपनाउनु नै बुद्धिमानी पनि हो ।