बृजमान तामाङ्ग
बिरेन्द्र बजार, २१ पुस ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजारमा सोमबार राती भएको सडक दुर्घटना परि एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सप्तरी बिष्णुपुर गाउँपालिका वडा नम्बर १ का ३५ बर्षीय राम कुमार (खत्वे) मण्डलको मृत्यु भएको हो ।
साँझ साढेसात बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकले सोही दिशामा रहेको पैदल यात्रीलाई ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । ट्रकको ठक्करबाट घाईते मण्डललाई उपचारको क्रममा अस्पताल लैजानेक्रममा बटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा परीक्षणका लागि पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ट्रकको भने हालसम्म पहिचान भएको छैन । ठक्कर दिएको आशंकामा एक ट्रकलाई रातिनै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता डिएसपी भुबनेश्वर प्रसाद साहले जानकारी दिए ।
प्रहरी नियन्त्रणमा रहेको ट्रकको केही भागमा रगत देखिएकाले थप अनुशान्धन भईरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको प्रहरीले बताएका छन् ।