• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सरकारले रोक लगाएको कार्यक्रममा २६ लाख बढी खर्च

लकडाउन अबधिमा पनि छिन्नमस्तामा तालिम गोष्ठी

जितेन्द्र ‘जितु’
राजविराज, २० पुस ।
नेपाल सरकार, अर्थ मन्त्रालय, प्रदेश सरकार लगायतकाहरुले गत आर्थिक वर्ष ०७६÷०७७ मा बिभिन्न तालिम गोष्ठी लगायतका कार्यक्रमहरु संचालन नगर्न प्रत्येक स्थानीय तहलाई निर्देशनसहितको पत्राचार नै गरेका थिए । यद्यपि माथिल्लो निकायको निर्देशन समेतलाई अटेर गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकाले गत आर्थिक वर्षको असार महिनामा मात्रै बिभिन्न तालिम गोष्ठीका निम्ति कार्यालयका कर्मचारी, बिभिन्न व्यक्ति तथा संस्थालाई लाखौ रकम निकासा दिएका रहेछन् ।

संघीय सरकारदेखि स्थानीय तह सम्ममा राज्यले भौतिक विकाससँगै मानव एवम् सामाजिक विकासका निम्ति बजेट विनियोजित गर्दै आएको छ । आम जनको हाउभाउमा परिवर्तन, बिभिन्न किसिमका सचेतना एवम् सीपको विकासका माध्यमले पछाडि परेका समुदायलाई उकास्दै मानव विकास सुचकांकलाई दरो पार्न राज्यले तालिम गोष्ठिका निम्ती पनि बर्षैनी बजेट विनियोजित गर्दै आएको छ । यद्यपि गत वर्ष कोरोना भाईरसको संक्रमण जोखिमलाई मध्यनजर गर्दै माथिल्लो निकायहरुले महामारीबाट लड्न बजेट व्यवस्थापना तथा लकडाउनको पालनाका निम्ति तालिम गोष्ठीमा रोक लगाएको थियो ।

यसै सन्दर्भमा ०७६ चैत्रको अन्तिम सातामै अर्थ मन्त्रालयले बिभिन्न निकायहरुलाई परिपत्र गर्दै सार्वजनिक गतिविधि तथा आवागमनलाई नियन्त्रित गर्नुका साथै महामारीबाट जुध्न बजेट व्यवस्थापन समेतको उद्देश्यले तालिम गोष्ठीलगायतका बिभिन्न शिर्षकहरुमा गरिएको बजेट कोरोना उपचार कोषमा हस्तान्तरण गर्नुका साथै तालिम गोष्ठी संचालन नगर्न निर्देशन सहितको परिपत्र गरेको थियो । बैशाखको पहिलो साता प्रदेश–२ सरकारले पनि सोही आसायको पत्राचार गरेका रहेछन् ।

सोहि परिपत्र बमोजिम प्रदेशसभाका सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत राखेको तालिम गोष्ठी लगायतका योजनाहरु परिवर्तन गरेका थिए । साथै सप्तरीका प्रायः जसो स्थानीय तहहरुले पनि तालिम गोष्ठीलगायतका शिर्षकमा रहेको समाजिक विकास तर्फको बजेट तथा कार्यक्रम परिवर्तन गरेका थिए । यद्यपि छिन्नमस्ता गाउँपालिका भने कम्तिमा २६ लाख ३० हजार २ सय ७७ रुपैयाँको भुक्तानी छुट्टा छुट्टै तालिम गोष्ठी संचालनका लागि बिभिन्न व्यक्ति तथा संस्थालाई दिएको गाउँपालिकाको चेक विवरणबाट देखिन्छ ।

गाउँपालिकाको चेक विवरण अनुसार विभिन्न १६ वटा चेकमार्फत गाउँपालिकाका कर्मचारी, बिभिन्न व्यक्ति तथा संस्थाहरुलाई तालिम गोष्ठिका लागि भुक्तानी गरिएको हो । जस मध्यै सबैभन्दा बढी गाउँपालिकाका कर्मचारी सन्तोषकुमार रायको नाममा सात वटा चेकमार्फत १४ लाख ४१ हजार ७ सय ८६ रुपैयाँ चेकमार्फत भुक्तानी गरिएको छ ।