राजविराज, २० पुस ।
तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीस्थित भीमा नदीमा सोमबार पक्की पुलको शिलान्यास गरिएको छ । यसअघि रहेको काठे पुललाई विस्थापित गर्दै ६ मिटर चौडाई र २१ मिटर लम्बाई भएको पक्की पुलको शिलान्यास राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहले गरेका छन् ।
बस्तीको बीचमै रहेको नदीमा यसअघि काठेपुलमार्फत सर्वसाधारण आवत–जावत गर्ने गरेका थिए । यद्यपि उक्त पुल जीर्ण भएपछि त्यहाँ पक्की पुलका लागि चौतर्फी पहल थालिएको थियो । पुलको शिलान्यास गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य सिंहले नयाँ पुल निर्माणले उक्त भेगका बासिन्दाहरुलाई आवतजावतमा सजिलो हुने विश्वास ब्यक्त गरे ।
संघीय सरकारको बजेट अनुदानबाट उक्त पुल निर्माण गर्न लागिएको हो । पूर्वाधार विकास कार्यालयद्वारा गरिएको उक्त पुलको टेण्डर धरानको सूर्या एण्ड सन्स प्रा.लि.ले उक्त पुल निर्माणको ठेक्का पाएका छन् । उक्त पुलको कूल लागत एक करोड ७७ लाख ४० हजार छ सय रुपैयाँ रहेको ठेकेदार कम्पनीले जनाएको छ ।