• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) मा यति बेला बिग्रह देखिएको छ । आफ्नै पार्टी बहुमतको सरकारमा रहे पनि सोही पार्टीका बरिष्ठ नेताहरु नै अहिले सरकारका बिरुद्ध लागेका छन् । पार्टीको नीति अनुसार सरकारले काम गर्न नसकेको भन्दै नेताहरु नै चर्को आलोचनामा उत्रने क्रम जारी छ भने सरकारी पक्षबाट चाहिँ पार्टीकै नेताहरुले सरकारलाई काम गर्न नदिएको आरोप उठ्न थालेको छ ।

यही आरोप प्रत्यारोपका क्रममा पार्टीमा गुटबन्दी झाँगिएको र एकले अर्कालाई कारवाही गरेको भन्ने समेत दावी अघि सारिएको छ । सरकारले जनताका चाहना अनुसार काम गरोस् भन्ने धेय रहेता पनि अहिले ती काम थाँति रहन पुगेका छन् । कोरोनाका कारणले देशको आर्थिक अवस्था गिर्दो छ, महँगी नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन । विश्वका कतिपय मुलुक कोरोनाको भ्याक्सीन परीक्षणको अन्तिम तयारीमा छन् भने कतिपयले लगाउन पनि सुरु गरिसकेका छन् ।

नेपालमा पनि यसको व्यवस्था कसरी गर्न सकिन्छ भन्नेमा बढी चासोका साथ काम गर्नुपर्ने अहिलेको आवश्यकता थियो । तर,बिडम्बना नै भन्नु पर्ने हुन्छ कि यस्ता अति आवश्यक काम भन्दा पनि सरकारको ध्यान अहिले आफ्नै पार्टीभित्रको विवादका कारणले अन्यत्र मोडिएको छ । कसलाई कुन पदमा नियुक्त गर्ने जस्ता भागबण्डाको विवाद झिकेर पार्टीमा किचलो बढेका कारणले काम गर्न नपाईएको प्रधानमन्त्री स्वयम् बताउन थालेका छन् ।

पार्टीमा भागबण्डाको विवादका कारणलेन नै सरकारले कामै गर्न नसकेको भनि आरोप लगाउने गरिएको उनको कथन रहेको छ । सत्तारुढ दलको यही विवादका कारणले अहिले पार्टी फूटको संघारसम्म पुगिसकेको छ । जनताले बलियो बहुमत दिएर पठाएका भएपनि सरकारले जनसरोकारका मामिलामा काम गर्न नसकेको भनि आलोचना बढ्न थालेको छ । मुलुकमा विद्यमान समस्याका सबालमा काम गर्नेतिर सरकारलाई ध्यानाकर्षण गराउनु सत्तारुढ पार्टीको जिम्मेवारी भए पनि अहिले एक अर्काको आरोप प्रत्यारोपमै समय बितिरहेको छ ।

सरकारका समर्थक तथा बिरोधी गरी अहिले नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) स्पष्ट दुई धारमा विभक्त भएको छ । आफैंभित्रको आरोप प्रत्यारोपको जुहारीका कारणले जनताका समस्या आझेलमा पर्दै आएका छन् । जनतासित निर्वाचनका समयमा गरेको प्रतिबद्धता पूरा गर्नेतिर लाग्नु पर्ने समय विवादका कारणले खेर गईरहेको छ । अवस्था यस्तै रहने हो भने जनताले सत्तारुढ दलको कार्यशैली प्रति कसरी चित्त बुझाउलान् ?