जितेन्द्र ‘जितु’
राजविराज, पुस १९ ।
पछिल्लो समय एक पछि अर्को अनियमितताको आरोप आरोप खेप्दै आएको सप्तरीको छिन्नमस्ता गाउँपालिकाले गत आर्थिक वर्ष ०७६÷०७७को अन्तिम समयमा बजेट सिध्याउन आर्थिक ऐन कानुन तथा निर्देशिकालाई समेत वाईपास गर्दै आफ्ना कर्मचारीहरुको नाममा गैर कानुनी भुक्तानी गरेको खुलेको छ ।
गाउँपालिका कार्यालयबाट चुहिएको चेक विवरणबाटै उक्त तथ्य खुलेको हो । ०७७ बैशाख १४ देखि असार २३ गते सम्मको चेक विवरण अनुसार गाउँपालिकामा कार्यरत साहायक पाँचौ तहका कर्मचारी सन्तोषकुमार रायको नाममा मात्रै बिभिन्न शिर्षकमा ४२ लाख ८१ हजार ३ सय ७१ रुपैयाँ दर्जन बढी छुट्टा–छुट्टै चेकबाट भुक्तानी गरिएको हो ।
कर्मचारी तथा पदाधिकारीहरुकालागि इन्धन एवम् गाडी भाडादेखि लिएर विद्यालयहरुको भौतिक विकास, स्तरोन्नत्ति, बिभिन्न वस्तीमा बिजुली वत्ति जडान, कृषि, महिला विकास, न्यायीक समिति, कोरोना जोखिम न्यूनीकरण, सडक नाटक, बिभिन्न तालिम गोष्ठी, शिक्षा दिवस तथा राष्ट्रिय साक्षरता दिवस, राष्ट्रपति रनिंग शिल्डलगायत बिभिन्न शिर्षकमा रायको नाममा भुक्तानी गरिएको चेक विवरणले देखाउँछन् ।
छिन्नमस्ता गाउँपालिकाको स्थानीय बासिन्दासमेत रहेका राय तत्कालिन जिल्ला विकास समितिमार्फत युनिसेफले संचालन गर्ने गरेको सरसफाई तथा स्वच्छतासम्बन्धि कार्यक्रमका लागि नियुक्ति पाएका कर्मचारी हुन् । पछिल्लो पटक स्थानीय तहको संरचना विकास भएपछि जिल्ला विकास समितिबाट समायोजन भएर छिन्नमस्ता गाउँपालिका पुगेका हुन् । गाउँपालिकामा उनी मूल रुपमा शिक्षा विकास शाखा हेर्दै आएका छन् ।
यद्यपि कर्मचारीको अभाव लगायतका समस्या एवम् आफुभित्र काम गर्न सक्ने क्षमताका आधारमा नचाहँदा चाहँदै पनि बिभिन्न जिम्मेवारीहरु वहन गर्नुपर्ने बाध्यता रहेको रायको भनाई छ । उनी भन्छन्, ‘काम गर्ने नेपाल सरकारका जिम्मेवार कर्मचारीहरु राम्रा राम्रा फाँट नपाउँदा कामै नगर्ने अडान लिएपछि कार्यालय प्रमुख एवम् जनप्रतिनिधिहरुको अनुरोधमा आफु सक्दो बिभिन्न जिम्मेवारीहरु निर्वाह गर्दै आएको छु ।’ कतिपय कार्यक्रम तथा अन्य कामहरु आफ्नो खल्तीबाट पैसा लगाएर गरेको महिनौ पछि आफुले भुक्तानी पाएको उनको गुनासो छ ।
यद्यपि स्थानीय अगुवा तथा गाउँपालिकाका कर्मचारीहरु नै रायले भने जस्तो अवस्था नभई केही जनप्रतिनिधि तथा कर्मचारीहरुको सिण्डीकेटवस गत वर्ष यसरी भद्रगोल भुक्तानी भएको दावि गर्छन । नाम नछाप्ने शर्तमा गाउँपालिकाकै एक कर्मचारीले भने, ‘तत्कालिन प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा सँगको साँठगाँठका आधारमा कतिपय कर्मचारीहरुले यसरी नै लाखौं रुपैयाँ भुक्तानी पाएका छन्, यद्यपि प्रमुख प्रशासकीय अधिकृत थापा विना जानकारी नै सुटुक्क गईहाले अब उनका निकटस्थहरुको पोल खुल्दै छन् ।’
एउटै कर्मचारीलाई एउटा पेश्की पछ्र्यौट नहुँदै पेश्कीमाथि पेश्की दिने अर्कोलाई कुनै कामै नदिने परिपाटीका कारण पनि पछिल्लो पटक छिन्नमस्ता गाउँपालिका भद्रगोल वन्न पुगेको ती कर्मचारीको भनाई छ । ‘एउटै व्यक्तिको नाममा तीन महिना भित्र झण्डै ४३ लाखको भुक्तानी दिइनु त्यसै पनि कानुन र व्यवहार कुनै पनि तरिकाले नियमसंगत हुँदैन’, उनले भने, ‘भुक्तानी लिएका मध्यै कति रकमको पेश्की फछ्र्यौट भएको छ अव त्यसको खोजी गर्नुस आफै छर्लङ्ग हुन्छ ।’ यता रायले आफु माथि साढे ९ लाख जति मात्रै अब पेश्की बाँकी रहेको दावी गर्छन् । उनले भने, ‘राष्ट्रपति रनिङ्गशिल्डलगायतका निम्ति मेरो नाममा भुक्तानी भएको कतिपय रकम खर्च नहुँदा मैले त्यसै फिर्ता गरिदिएको छु, थोरै पेश्कीहरु बाँकी छ, त्यो पनि चाँडै फर फारक हुन्छ ।’
यसरी एउटै व्यक्तिको नाममा तीन महिना नबित्दै लाखौ रकम भुक्तानी दिने काम संतोष रायको हकमा मात्रै रहेको छैन । न्यूज टुडेसँग रहेको तथ्यांकअनुसार यस्ता थुप्रै कर्मचारी, संस्था, जनप्रतिनिधिहरु छन् जसको नाममा एकपछि अर्को गरी लाखौं रुपैयाँ भुक्तानी गरिएको छ । छिन्नमस्ता गाउँपालिका शुरुदेखि नै निकै विवाद र अनियमितताको आरोप खेप्दै आएको छ । पुसको तेश्रो साता बित्न लाग्दासमेत अझै गाउँ सभा हुन सकेको छैन् ।