राजविराज, १९ पुस ।
सप्तरीको खडक नगरपालिका–२का वडा अध्यक्ष रामअबतार साह विरुद्ध उनकै वडाका तीन जना सदस्यहरुले कानुनी उपचारमा लागेका छन् । वडा अध्यक्ष साहले निर्णाय पुस्तिकामा टिपेक्स लगाएर निर्णाय केरमेट गरेको तथा वडा समितिबाट पारित योजनाहरुलाई किर्तेगरी आफु खुशि योजना नगरसभामा पेस गरेको भन्दै उनी विरुद्ध कानुनी उपचार खोज्न बाध्य भएको वडा सदस्यहरुको भनाई छ ।
वडा समितिका चार जना सदस्य मध्ये एक जना वडा अध्यक्ष साहसँगै रहेका छन् । अन्य तीन जना पल्टनिया मण्डल, विल्टु सदा र शान्तिदेवी मण्डल वडा अध्यक्ष विरुद्ध कानुनी उपचार खोज्नुका साथै खुल्ला रुपमै प्रतिवादमा उत्रिएका छन् । आफ्ना केही समर्थकहरुसहित आइतबार दिउँसो राजविराजस्थित नेपाल पत्रकार महासंघको कार्यालय पुगेका तीनै जना सदस्यहरुले पछिल्लो एक वर्षदेखि बिभिन्न निकायलाई गुहार्दागुहार्दै आफुहरु दिक्क भएको बताउँदै अब कानुनी उपचारको विकल्प नरहेको बताए ।
वडा सदस्य विल्टु सदाका अनुसार ०७५ पुस २ गते नै वडा समितिले सर्वसम्मतबाट वडामै रहेको ऐलानी जग्गामा वडा कार्यालय निर्माण गर्ने निर्णाय भएको थियो । यद्यपि वडा अध्यक्ष साहले उक्त निर्णायमाथि टिपेक्स लगाएर निर्णाय नै परिवर्तित गरेको विल्टुको आरोप छ । ०७६ बैशाख १० गते वडा कार्यालयको निर्णायसहित नगरपालिका कार्यालयमा गरिएको पत्राचार अनुसार नगरपालिकाले सोही वडाको अर्कै जग्गामा कार्यालय भवन वनाउन जग्गा नामसारीका लागि सिफारिस दिएपछि आफुहरु वल्ल वडा अध्यक्षको करतुत बारे थाहा भएको विल्टुको आरोप छ ।
०७६ बैशाख १० मै नगरपालिका कार्यालयले वडा कार्यालयलाई जग्गा नामसारीका लागि दिएको सिफारिस अनुसार खडक नगरपालिका–२ अन्तर्गत सिरहाको धनगढी नगरपालिका–२ निवासी रेणु मुखियाको नाममा रहेको एक कट्ठा जग्गा वडा कार्यालय निर्माणका लागि लिने उल्लेख छ । यस्तो जानकारी पाएपछि आफुहरु आफुहरु प्रतिवादमा उत्रेको र उक्त काम तत्काल रोक्ने नगरपालिका लगायतको निकायमा दवाव दिएपछि त्यतिवेला जग्गा नामसारीको प्रकरण रोकिएको विल्टुको भनाई छ ।
त्यस पश्चात ०७६ फाल्गुन २३ गते वडा अध्यक्षकै अध्यक्षतामा बसेको बैठकले वडा अध्यक्षले आफ्नो गल्ती समेत स्विकारेको अर्का वडा सदस्य शान्ति देवी मण्डलले बताईन् । त्यसपछि वडा कार्यालयलका लागि पुनः नयाँ जग्गाको खोजि प्रारम्भ भएको र वडा समितिले सर्व सम्मतबाट स्थानीय गुरुदयाल साहकी पत्नी सुखरीदेवी साहको नाममा रहेको एक कट्ठा जग्गा लिने निर्णाय भएको थियो । यद्यपि वडा अध्यक्षले उक्त निर्णायलाई पनि अटेर गर्न खोजेको उनको आरोप छ ।
एकपछि अर्को सामुहिक निर्णायलाई अटेर गर्दै आफु र आफ्ना आसेपासेहरुलाई अनुकुल हुने निर्णायहर गरेर वडाको विकासलाई बर्बाद पार्नुका साथै कानुन र बिधानबाट चल्ने संस्थालाई आफ्नो खल्तीमा सिमित पारेको वडा सदस्य मण्डलको आरोप छ ।
यता वडा अध्यक्ष रामअबतार साहले राजनीतिक प्रतिसोधवस आफ्ना तीनै जना वडा सदस्यहरुले आफुमाथि अनर्गल आरोपहरु लगाउँदै मात्रै हिडेको प्रतिक्रिया जनाएका छन् । ‘पछिल्ला गल्ती, त्रुटीहरु बारे पटक–पटक छलफल तथा समन्वय भईसकेको अवस्थामा यसरी अनावश्यक आरोपहरु मात्रै लगाएर कसैको चरित्र हत्या गर्नु उपयुक्त होईन’, उनले भने, ‘पटक–पटक बैठक डाँक्दा उहाँहरु आउनु हुन्न, बैठकवारे बैधानिक चिठ्ठी पठाउँदा बुझ्नु हुन्न, कतिपय वेला बुझेर पनि आउन मान्नु हुन्न, यस्तो अवस्थामा विकासलाई बन्धक बनाउनु भन्दा मैले आफ्नो स्तरबाट निर्णाय नलिए के गर्नु ?’