• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सरकारले काम गर्न सकेन भन्ने आलोचना बढिरहेको बेला अहिले त सत्तारुढ पार्टी नै दुई चिरामा विभक्त भएर गएको छ । दुबैले आआफ्नो तर्कबाट एक अर्कालाई दोष थोपर्ने अनि आफू चोखिने प्रयत्नमा लागेका छन् । प्रधानमन्त्रीले आफ्नै पार्टीभित्रबाट सरकारलाई असहयोग गरेको आरोप लगाउने गरेका छन् । उनले प्रचण्डसित पटक–पटक सम्झौता गर्दा पनि काम गर्ने बातावरण नभएको भन्दै सम्झौताका कागजले ब्रिफकेश नै भरिएको तर समस्या जस्ताको तस्तै रहेको आशयको अभिव्यक्ति दिएका छन् ।

काम गर्ने बेलामा अनावश्यक किचलो र विवाद अघि सारेर सरकारलाई अप्ठ्यारोमा पार्ने काम भएको उनको आरोप छ । तीन महिनामा टुंग्याउनु पर्ने पार्टी एकीकरणको काम तीन वर्ष हुँदा पनि पूरा नभएको बताउँदै प्रधानमन्त्रीले महाधिबेशनको तयारीकालागि जुट्नु पर्नेमा किचलोमा लागेका कारण सरकारले काम गर्ने बातावरण नपाएको दावी गर्दैृ आएका छन् । उता प्रधानमन्त्रीको विपक्षमा रहेका नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का नेताहरु भने प्रधानमन्त्री नेतृत्वको सरकारले कामै गर्न नसकेका कारण आफूहरुले प्रधानमन्त्री समक्ष यो कुरा बताउँदा त्यसमा सोच्नु भन्दा पनि आफ्नै तालमा हिँड्न थालेको आरोप लगाउन थालेका छन् । उनीहरुले संबिधानको मर्म विपरित संसद बिघटन गरेर मुलुकलाई अस्थिरतामा धकेलेको समेत बताउँदै छन् ।

यसरी एक आपसमा आरोप प्रत्यारोपका श्रृंखला चलिरहँदा जनता भने निराश बन्ने अवस्था आएको छ । मुलुकमा एक से एक समस्या बढ्दै छन् । ती मध्ये अधिकांश समस्याको समाधानमा सरकारकै भूमिका अपेक्षित छ । बलियो बहुमतका साथ बनेको सरकारले पनि समस्या समाधान गर्न सकेन भने अब कसमाथि भरोशा गर्ने भन्ने प्रश्न समेत उठ्न थालेको छ ।

मुलुकमा विद्यमान समस्याको समाधानमा जनताकालागि राजनीति गरेको भन्न रुचाउने राजनीतिक दलका नेताहरुले पहिला जनतासित गरेका प्रतिबध्दता कसरी पूरा गर्न सकिन्छ भन्ने कुरामा नै जोड दिन जरुरी छ । तथापि अहिलेको अवस्थालाई हेर्दा त्यस्तो लक्षण देखिने गरेको छैन । बहुमतको सरकार पनि आफ्नै पार्टीभित्रको अन्तर्बिरोधका कारणले समस्यामा पर्दछ भने राजनीतिक अस्थिरताको बीजारोपण त्यहीँबाट सुरु भएको बुझियो भने त्यो अन्यथा नहोला ।

अहिले आफ्नो जिम्मेवारी बहन गर्नुको साटो अरुमाथि दोषारोपण गरेर जतिसुकै चोखिने प्रयत्न गरे पनि कुनै न कुनै समयमा जनताको अदालतमा जानै पर्ने हुन्छ । लोकतन्त्रमा जनता नै सर्वशक्तिमान हुने भएका कारण एकले अर्कोलाई खुईल्याएर सफल भएको देख्ने सोच परित्याग गरी जनताकै पक्षमा काम गर्ने भावनाका साथ अघि बढ्न जरुरी देखिन्छ ।