जितेन्द्र ‘जितु’
राजविराज, १६ पुस ।
स्थानीय तह संचालन कार्यबिधि अनुसार असारको १० गते भित्र गाउँ सभा गर्नुपर्ने प्राबधान छ तर, पुसको तेश्रो साता चलिरहँदासम्म छिन्नमस्ता गाउँपालिकाले गाउँ सभासम्म गर्न सकेको छैन । गाउँसभा नहुँदा गाउँपालिका मातहतका सयौं कर्मचारी पछिल्लो ८ महिनादेखि तलब समेतबाट बञ्चित भएर आफ्नो कार्य सम्पादन गर्न बाध्य छन् । यद्यपि ०७७ बैशाखदेखि असारसम्मको तीन महिनाको अबधिमा यस गाउँपालिकाले ईन्धन तथा गाडी भाडा लगायतमा मात्रै साढे ३७ लाख भन्दा बढी खर्चेको रहस्योद्घाटन भएको छ ।
गाउँपालिकाकै तथ्यांक अनुसार ०७७ बैशाख १४ देखि असार २२ गते सम्ममा मात्रै बिभिन्न पेट्रोल पम्प, संस्था तथा व्यक्तिको नाममा ईन्धन, गाडी भाडा तथा मर्मतलगायतको कार्यका लागि गाउँपालिकाले ३७ लाख ५४ हजार १ सय ४४ रुपैयाँ भुक्तानी गरिएको छ । यी रकम मध्यै अधिकांश ईन्धन शिर्षकमै भुक्तानी गरिएको गाउँपालिकाको तथ्यांकले देखाउँछन् । यद्यपि गाउँपालिकाले पेट्रोल÷डिजेल लगायतका इन्धन खरीद गर्ने गिता आयल ट्रेडको नाममा मात्र ११ लाख ७० हजार ९७ रुपैयाँ भुक्तानी गरिएको देखिन्छ । बाँकी झण्डै २५ लाख भन्दा बढी बिभिन्न कर्मचारी, व्यक्ति तथा अन्य संस्था तथा ठेकेदार कम्पनीको नाममा ईन्धन, गाडी मर्मत तथा गाडी भाडालगायतको शिर्षकमा भुक्तानी दिइएको छ ।
‘अहिलेसम्म पहिलो चौमासिकको निकासा लिई सक्नुपर्ने थियो तर, त्यता तिर केहि कामै हुन सकेको छैन’, छिन्नमस्ता–३ का वडा अध्यक्ष दिपेन्द्र कुमार यादव भन्छन्, ‘हाम्रो गाउँपालिका बेथिती तर्फ उन्नमूख छ, नियन्त्रण गर्ने निकाय पनि मौन जस्तै देखिएको छ ।’ असारे बजेट सिध्याएर बेपत्ता भएका प्रमुख प्रशासकीय अधिकृत हालसम्म नफर्किएको बताउँदै यादवले भने, ‘आफुहरुले गाउँपालिकाको बेथितिबारे पटक–पटक कुरा उठाउँदा पनि पालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले ध्यान दिदैनन् ।’ गाउँपालिकामा व्यापक अनियमिता भएका कारण आफुहरुले आय व्यय विवरण हेर्नसम्म नदिएको उनको गुनासो छ । उनी भन्छन्, ‘गाउँपालिकाका पदाधिकारीहरुको मिलोमतोमा कागज मिलान गरेर करोडौ रुपैयाँ भ्रष्टाचार गरेको छ, कमसेकम एक पटक अख्तियारको टोली आएर हेरिदिए सबै कुरा छर्लङ्ग हुन्छ ।’

यता गाउँपालिकामा बिभिन्न शिर्षकमा अनियमितता भएको विषयमा अध्यक्ष सुर्यनारायण मण्डल (कुरुड)ले कर्मचारीहरुले भ्रष्टाचार गरेको स्वीकार्छन् । आफुले पालिकाको एक रुपैयाँ पनि अनाहकमा खर्च नगरेको दावी गर्दै उनी भन्छन् ‘मैले गाउँपालिकाको एक रुपैयाँ पनि अनियमितता गरेको छैन तर मेरै आडमा कर्मचारीले भ्रष्टाचार गरेको हुनसक्छ ।’
गाउँपालिकामा झण्डै तीन हजार हराहारीमा समाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरू छन् । गाउँपालिकाकै तथ्यांक अनुसार वडा नम्वर–१ मा ३ सय ७८ जना, २ मा ३ सय ७८ जना, ३ मा ४ सय ४७ जना लाभग्राहीहरू छन् । त्यस्तै वडा नम्वर ४ मा ५ सय ४० जना, ५ मा ५ सय ३० जना, ६ मा ३ सय ९६ जना र वडा नम्वर ७ मा २ सय ५४ जना लाभग्राहीहरू छन् ।
नियमानुसार कार्तिक मसान्त भित्रै बाँडनुपर्ने सामाजिक सुरक्षा भत्ता जनप्रतिनिधि तथा कर्मचारीहरूको खिचातानीका कारण बाँड्न नसकिएको प्रायः जसो ग्रामीण अगुवाहरूको गुनासो छ । यद्यपि जनप्रतिनिधि तथा कर्मचारीहरु भने आफुहरू बीच त्यस्तो कुनै खिचातानी नरहेको बताउँदै आएका छन् ।
कर्मचारी तथा जनप्रतिनिधिहरूका अनुसार प्रमुख प्रशासकीय अधिकृतविहीनताका कारण समाजिक सुरक्षा भत्ता वितरण तथा गाउँ सभा लगायतका कामहरू प्रभावित भएको हो । प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा विना कुनै जानकारी कार्तिक २३ देखि नै कार्यालयमा अनुपस्थित छन् ।
यता स्थानीय अगुवाहरू गाउँपालिकाका जनप्रतिनिधिहरू नीति र नियत स्पष्ट भए यस्तो परिस्थिति पक्कै पनि नआउने बताउँछन् । छिन्नमस्ता गाउँपालिकामा सुशासन, पार्दर्शिता र विकासको मुद्दामा निरन्तर खवरदारी गर्दै आएका स्थानीय अगुवा बिनोद यादव भन्छन्, ‘प्रत्येक वर्ष यस्तै समस्या आउँछन्, आजसम्म कहिले पनि समयमा गाउँ सभा गर्न सकिएको छैन्, गत वर्ष पनि आन्दोलन नै गरेर समाजिक सुरक्षा भत्ता वितरण गराउनुपर्ने स्थिति सृजना भएको थियो ।’
गाउँ सभा अषाढमै गर्नुपर्ने प्रावधान छ, समाजिक सुरक्षा भत्ताअन्तर्गत पहिलो चौमासिक निकासा कार्तिकमै गर्नुपर्ने हुन्छ । त्यतिबेला कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति र उपलब्धता दुबै थियो । जनप्रतिनिधिहरूको मनसय ठीक भएको भए त्यतिबेलै गाउँसभा गर्न सकिन्थ्यो, भत्ता बाँड्न सकिन्थ्यो, कर्मचारीहरूलाई पनि तलबविहीन भएर तनाव तथा दवाव झेल्नुपर्ने अवस्था पक्कै पनि आउने थिएन ।