• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

नेपाली काँग्रेस र उसका भातृ संस्थाहरुले बिहीबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् । पार्टीका संस्थापक नेता विपी कोईराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन परित्याग गर्दै भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेका दिन हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले प्रथम जननिर्वाचित सरकारलाई अपदस्त गरी आफ्नो हातमा शासन सत्ता लिएका थिए । यसै सन्दर्भमा विपीलाई जेलै हालियो । राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाएर पञ्चायती निरंकुश शासन लगाउने काम भयो । २०२५ सालमा विपी कोईराला जेलमुक्त भएपछि भारतमा बसेर निर्वासित जीवन बिताउन लागेका थिए । भारत निर्वासनको आठ वर्षपछि विपीलगायतका अन्य विभिन्न नेताहरु राष्ट्रियता जोगाउनकालागि भन्दै राजसंस्था तथा सबै राजनीतिक दलहरु मिलेर राष्ट्रियताको संरक्षण गर्नु पर्ने भन्दै स्वदेश फर्किएका हुन् ।

विपीलाई त त्यति बेला मृत्युदण्डकै मुद्दा चलाईएको थियो । तर पनि उनी त्यसको जोखिम समेत मोलेर निर्वासित जीवनबाट स्वदेश आएका थिए । मुलुकमा यति बेला पनि राजनीतिक संकट उत्पन्न भएको छ । बहुमतको सरकार छँदाछँदै प्रधानमन्त्रीले संसद विघटन गरेका छन् । यस कार्यका बिरुद्धमा स्वयम् सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कै एक खेमा बढी आन्दोलित भएको छ । प्रधानमन्त्रीलाई अधिकार नभएपनि संबिधान मिचेर संसद विघटन गरेको भन्ने आरोप लगाउन थालिएको छ । यद्यपि यो मुद्दा अहिले सर्बोच्च अदालतमा विचाराधीन त छ । तर पनि मुलुकमा यस कदमका बिरुद्धमा आन्दोलन र प्रदर्शन हुँदै आएको छ ।

नेपालमा यति बेला राजतन्त्रको समाप्ति भएर गणतान्त्रिक शासन व्यवस्था लागु छ । अहिलेको ऐतिहासिक परिवर्तन ल्याउनका पछाडि लोकतान्त्रिक राजनीतिक दलहरुकै भूमिका अहम् रहेकोमा आशंका छैन । तर पनि अहिले देखिन थालेको किचलोका कारण कतै आएको उपलब्धि नै पो गुम्नेत होईन ? भन्ने सर्बत्र जिज्ञासा र आशंका मडारिन थालेको छ । राजनीतिक परिवर्तनबाट आएको मूल उपलब्धि भनेको संबिधानसभाबाट संबिधानको निर्माण हुनु नै हो । तर, अहिले देखापर्न थालेको राजनीतिक खिचातानी तथा किचलोका कारण कतै उपलब्धिमाथि नै पो प्रहार हुने पो हो कि भन्दै अडकलबाजी गर्नेहरुको पनि यहाँ कमी छैन ।

यो उपलब्धिको जगेर्ना गर्ने दायित्व पनि यिनै राजनीतिक दलहरुको भएका कारण फेरि पनि यस मामिलामा मेलमिलाप, छलफल तथा सहकार्यका साथ अघि बढ्नुको विकल्प रहन्न ।