• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

नयाँ वर्षमा नयाँ प्रारुपको जोखिम

कोरोना भाईरस
नयाँ वर्षमा नयाँ प्रारुपको जोखिम

जितेन्द्र ‘जितु’
राजविराज, १५ पुस ।

‘चीनमा छन्, भारतको दिल्ली तिर छन्, हाम्रो तिर त छैन, किन डराउनु प¥यो, भन्ने जस्ता अवधारणा त्यतिवेला पनि हामि भित्र थियो, अहिले पनि बेलायतमा छ रे, युरोपमा छन् हामीलाई के को डर जस्ता सोच हामि भित्र देखिएको छ जुन निकै चिन्ताको विषय हो । पुरानो गल्तीवाट पाठ सिक्दै अटेरी त्यागेर सजगता अपनाउनुको अर्को विकल्प छैन ।’

अंग्रेजी नयाँ वर्ष २०२० आउँदा आउँदै कोरोना भाईरस महामारीको रुप लिईसकेको थियो । सन् २०१९मै चीनको वुहानबाट निस्केको यो भाईरस वर्ष २०२० लाई दुनियाँकै लागि महामारीको वर्ष भनेर चिनाउन बाध्य पा¥यो ।

यस वर्षको अन्त्य–अन्त्य तिर आउँदै गर्दा कारोनाको प्रभाव विश्वभर विस्तारै मत्थर हुँदै गएको देखेर आमजनमा नयाँ वर्ष सन् २०२१ नयाँ उर्जा र उत्साह लिएर आउने आस विस्तारै पलाउँदै गएको थियो । यद्यपी पछिल्लो पटक बेलायत लगायत केही युरोपियन देशहरुमा भेटिएको कोरोना भाईरसको नविन प्रारुप(स्ट्रेन)ले पुनः विश्व समुदायलाई चिन्तित र भयभित पारेको छ ।

वैज्ञानिकहरुका अनुसार कोरोना भाईरसको नयाँ स्ट्रेन पुरनो(कोभिड–१९) भन्दा झण्डै ७० प्रतिशत बढी खतरनाक रहेको छ । सारांशमा भन्नुपर्दा कोभिड–१९ जस्तै यो नयाँ स्टूेन पनि यदि वैश्विक स्तरमा फैलियो भने मानव इतिहासका लागि यो आजसम्मकै सबैभन्दा ठुलो समस्या र चुनौति नबन्लान भन्न सकिदैन ।

‘हामी जस्ताका लागि चुनौतीपूर्ण’
उसो त नेपालमा हालसम्म कोरोना भाईरसको यस नयाँ स्ट्रोनबाट कोहि पनि संक्रमित भएका छैनन् । तर, छिमेकी भारतमा भने यो समाचार तयार पारिरहँदा सम्म नयाँ स्ट्रोनका २० जना संक्रमित फेला परिसकेका छन् । नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा मात्रै झण्डै ६ बढी सय व्यक्ति जो पछिल्लो पटक बेलायतबाट फर्केका थिए उनीहरु सरकारको सम्पर्कबाट बाहिर छन् ।

महाराष्ट्रलगायत भारतका कतिपय राज्यहरुले कोरोनाको यस नयाँ स्ट्रोनका कारण लकडन अबधि बढाउनुका साथै नयाँ वर्षमा सर्वसाधारणलाई सजगतापूर्वक बस्न निर्देशन जारी गरेको छ । पछिल्लो महिनामा मात्रै बेलायतबाट ३३ हजार यात्रु भारत फर्किएका छन् । तीमध्ये १ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ती सबैलाई नयाँ प्रकारको कोरोना देखिएको भने होइन । भारतले बेलायतबाट आउने सबै उडानमाथि प्रतिबन्ध लगाएको छ ।

बेलायतमा सेप्टेम्बरमा देखिएको यो भाइरस डेनमार्क, नेदल्यान्ड्स, अस्ट्रेलिया, इटाली, स्विडेन, स्विजरल्यान्ड, जर्मनी, क्यानडा, जापान, लेबनान, सिंगापुर, दक्षिण कोरियालगायतका विश्वका अधिकांश देशमा पुगिसकेको छ । यद्यपि नेपालका लागि सभन्दा ठुलो खतरा भने भारतसँग जोडिएको सयौं किलोमिटर खुल्ला सिमाना हो ।

‘भारतीय सीमानासँग जोडिएका हामी जस्ताका लागि ठुलो चिन्ता र चिन्तनको विषय हो यो’, गैर सरकारी संस्था महासंघ नेपालका अध्यक्ष शम्भुनन्द चौधरी भन्छन्, ‘पछिल्लो वर्ष कोरोना भाईरस संक्रमणका वेला पनि शुरु शुरुमा हामी खासै जागरुकता, जवाफदेहिता र संवेदनशिलता देखाउन सकेनौं, जसको गम्भीर परिणम हामीले भोग्यांै ।’

अहिले पनि कोरोनाको संक्रमण दर विस्तारै घटिरहेका वेला हामी थोरै वेपरवाह जस्तै देखिएको चौधरीको बुझाई छ । ‘चीनमा छन्, भारतको दिल्ली तिर छन्, हाम्रो तिर त छैन, किन डराउनु प¥यो, भन्ने जस्ता अवधारणा त्यतिवेला पनि हामि भित्र थियो’, उनले भने, ‘अहिले पनि बेलायतमा छ रे, युरोपमा छन् हामीलाई के को डर जस्ता सोच हामीभित्र देखिएको छ जुन निकै चिन्ताको विषय हो ।’

कोरोना संक्रमणको दर मात्रै कमजोर हुँदैमा हामी आफुलाई बेपरवाह वनाउनु उपयुक्त नरहेको भारदह अस्पतालमा कार्यरत डा. अनिलकुमार रजक बताउँछन् । ‘जोखिम अझै टलेको छैन्, यद्यपि डराउनुपर्ने अवस्था पनि तत्कालै देखिदैन तर, सजगता र संवेदनशिलता अपरिहार्य छ’, उनले भने, ‘मास्क तथा सेनिटाईजरको प्रयोग देखि लिएर भौतिक दुरीसम्मको खयाल गर्न कता कतै अधिकांशले छाड्न थालेका छन्, यदि तपाँई पनि यसरी अटेरी गरिराख्नुभा छन् भने साबधान हुनुस ।’

कोरोनाको नयाँ प्रारुप भारतमा फैलिए त्यसले नेपालमा सहजै प्रवेश पाउन सक्ने सम्भावना रहेको सीमावर्ती गाउँपालिका तिलाठी कोईलाडीका स्वास्थ्य शाखा प्रमुख शैलेश मिश्रको भनाई छ । ‘उसो त केही सुचीकृत नाकाहरु वाहेक अन्य नाकाहरुबाट सर्वसाधारणलाई आवत जावतमा बैधानिक रुपमा अझै रोकनै रहेको अवस्था छ, यद्यपि व्यावहारिक रुपमा सबै नाकाहरुवाट ठूलो संख्यामा सर्वसाधारण वारिपारी गरिरहेको अवस्था छ’, मिश्रले भने, ‘एकातिर सीमा क्षेत्रमा किनमेलका लागि दिनहुँ हुने आवत जावत तथा भारतको दिल्ली, हरियाणा, पंजाव, महाराष्ट्र जस्ता राज्यहरुमा रोजगार तथा अध्ययनका सिलसिलामा अहिले पनि निकै संख्यामा नेपालीहरु रहेकोले उनीहरुमार्फत भाईरस भित्रिन सक्ने सम्भावना हाम्रो लागि सबभन्दा ठुलो चुनौती हो ।’

‘साबधानी र सजगताको छैन विकल्प’
छिमेकी भारत लगायत बिभिन्न देशका ठुल–ठुला कम्पनीहरुले कोरोनाको भ्याक्सीन विकसित गर्नुका साथै कतिपय मुलुकले त्यसको प्रयोग पनि थालि सकेको अवस्था छ । यद्यपि हाम्रो मुलुकको आर्थिक अवस्था एवम् राजनीतिक अन्यौलताले हामी कहाँ कोरोनाको खोप कहिलेसम्म आउलान भन्ने ठेगान छैन । त्यसमा पनि नयाँ प्रारुपको कोरोना भाईरसमाथि हाल आएका खोपहरुले काम गर्छन् वा गर्दैनन् भन्नेवारे वैज्ञानिकहरु अझै पनि अनुसन्धानमै छन् ।

यस्तो परिवेशमा हामी जस्ताका लागि साबधानि र सजगता अर्को कुनै विकल्प नरहेको नागरिक समाजका अगुवा थानसिंह भन्साली बताउँछन् । ‘अब कामै ठप्प गरेर घर बस्न सक्ने अवस्था छैन यद्यपि कामै गर्दा थोरै सजगता अपनाएर गर्न सके यस महामारीको नव प्रारुपवाट हामी जोगिन सक्छौ’, उनले भने, ‘भौतिक दूरी कायम गर्दै हाट बजार वा आफ्नो कार्य स्थल जाँदा हामिलाई खासै फरक परर्दैन, मास्कको प्रयोग, सेनिटाईजर सावुन पानीको प्रयोगले हामी आफु आफ्नो परिवार, समाज र राष्ट्रलाई ठुलो जोखिमबाट जोगाउन सक्छौ ।’