• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मुलुकमा अहिले कोरोनाको कहर छ । यही बेलामा ठण्डीको प्रकोप पनि बढिरहेका कारण विशेषतः गरिब, विपन्न दलित बढी जसो समस्यामा परेका छन् । समस्यामा परेकाहरुलाई जोगाउनकालागि समयमै सोचिएन भने यो अर्को दुर्भाग्य बन्न सक्दछ । किनभने एकातिर कोरोना संक्रमणले सबैलाई पिरोलको छ । त्यसमाथि अहिले बढेको ठण्डीका कारण मानिस विरामी पर्ने सम्भावना पनि प्रबल बनेको छ ।

यस्ता समस्यासित जुध्दै आफ्नो ज्यान सुरक्षित राख्नकालागि प्रयत्नशील भनेका तिनै विपन्न नै हुन् जोसित विहान बेलुकाको छाक टार्न पनि धौ–धौ छ । एकातिर सरकारले यस्ता समस्यामा परेकाहरुकालागि समयमै आवश्यक व्यवस्था मिलाउन सकिरहेको छैन । अर्कातिर कोरोनाका कारण देशको अर्थतन्त्र नै नराम्ररी प्रभावित बन्दै गएको छ । ज्यालादारी तथा मजदूरी गरेर पेट पाल्नेहरुकालागि अहिलेको समय नितान्त प्रतिकूल बन्दै गएको छ । यस्तो प्रतिकूलतामा जनताकालागि आश राख्ने निकाय भनेको सरकार नै हो ।

सरकारले जनताको जीवन रक्षाकालागि बेलैमा सोचिदिएन भने जनताले कसरी ज्यान जोगाउने ? यो प्रश्न फेरि पनि सरकारतिरै सोझिने हो । अहिलेको अप्ठ्यारो परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा सरकारले नै मार्गनिर्देश गर्ने हो । तर, सरकार आफैं यति बेला विवादमा फँस्दै गएको छ । आफ्नै पार्टीले सरकारका बिरुध्द आन्दोलन थालेपछि सरकारको कार्यशैलीमाथि विभिन्न कोणबाट आलोचना सुरु भएको हो ।

स्वयम् सत्तारुढ दल नै सरकारका बिरुद्ध आन्दोलनमा उत्रेको छ भने अन्य प्रतिपक्षीले सरकारको आलोचना गरे भने त्यो कुन ठूलो आश्चर्य होला र ? देशको परिस्थिति तथा जनताले भोग्दै आएका समस्याका बारेमा पहिला सरकारले नै सोच्ने हो । सरकार नै जब पार्टीभित्रको विवादले गर्दा अलमलमा पर्छ भने जनताका समस्याको समाधान कसरी निस्किएला ?

जनताका समस्या बढेका बढ्यै छन् । तर, सरकारले ती समस्याको समाधानमा समयमा चासो देखाएन भने यसले जनतालाई नै अझै पीडित बनाउनेमा आशंका छैन । सरकारले जनताप्रतिको जिम्मेवारी बुझेर पहिले नै त्यसको समाधानकालागि आवश्यक तयारी गरेमा मात्र यस्ता समस्यामाथि पार पाउन सकिन्छ । तर, बुझ पचाएर वा अन्य कुनै बहानामा समस्या समाधानमा ध्यान नदिने हो भने फेरि पनि दुःख पाउने त जनताले नै हो । सरकारले बेलैमा यो विषयमा सोच्न जरुरी छ ।