राजविराज, १४ पुस ।
हिन्दु राष्ट्र तथा राजतन्त्र पुनस्र्थापनाको मागसहित मंगलबार सप्तरी सदरमुकाम राजविराजमा राजावादीहरूले गर्न लागेको प्रदर्शन यूवा तथा विद्यार्थीहरूले बिथोलि दिएका छन् ।
जनता समाजवादी पार्टी, नेपाली काँग्रेस र दाहाल–नेपाल समूहका नेकपाआवद्ध विद्यार्थी तथा यूवाहरूले राजावादीहरूको प्रदर्शन विथोलेका हुन् । जसपा, नेकपा तथा काँग्रेस समर्थित युवा विद्यार्थीहरुले राजावादी तथा हिन्दु राष्ट्र समर्थितहरुको ब्यानर समेत जलाई दिए ।

बिभिन्न आन्दोलनपछि जनताले पाएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न भइरहेको षड्यन्त्रको विरोध गर्दै विद्यार्थीहरुले राजावादीको र्याली विथोलिएको जसपा समर्थित विद्यार्थी नेता किशोर कुमार यादवले बताए । वर्षौदेखिको आन्दोलनपछि जनताले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका हुन्, तर अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त अनेकौं षड्यन्त्र भइरहेको यादवको आरोप छ ।
अब उपरान्त पनि यस्ता खालका कुनै पनि गतिविधी गर्न नदिने र गर्न खोजे सशक्त रुपमा प्रतिवाद गर्ने चेतावनी समेत उनले दिए ।
सदरमुकाम राजविराजमा राजा आउ देश बचाउ भन्ने नाराका साथ जुलुस समेत प्रदर्शन गरिरहेका छन भने अर्कोतिर ठाउँ–ठाउँमा ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । यसअघि पनि बिभिन्न समयमा राजा सप्तरी आउँदा तथा राजावादीहरूले प्रदर्शन गर्न खोज्दा बिभिन्न मधेसवादी विद्यार्थी तथा यूवाहरूले त्यसविरुद्ध प्रतिवाद गर्दै आएका छन् ।