पुसको ठण्डीका कारणले सप्तरीमा बिभिन्न विपन्न समूदाय यति बेला समस्यामा छन् । गतिलो लुगा तथा ओढ्ने ओच्छ्याउनेको अभावका कारणले पुसको रात कटाउन पनि उनीहरुलाई निकै समस्या छ । उसै पनि अहिले कोरोनाको कहर चलिरहेको छ । ठण्डा मौसममा कोरोना संक्रमण अझै बढ्ने भनि स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताईरहँदा विपन्न समूदायका जनताको सुरक्षा गर्नुपर्ने चुनौति नै छ ।
उसै पनि गरिबीका कारणले पोषिलो खानेकुरा, विरामी परेका बेलामा उपचार समेत गर्न नसक्ने उनीहरुलाई न्यानो कपडा तथा ओढ्ने ओच्छ्याउनेको जोहो गर्नु असम्भब नै छ । यस्तो बेलामा खास गरी बृद्धबृद्धा, सुत्केरी तथा वालवालिका ठण्डीले बढी प्रभावित हुने भएका कारण उनीहरुलाई लक्षित गरेर सरकारले व्यवस्था गर्न जरुरी देखिएको हो ।
सप्तरी बढी दलितहरुको बसोबास रहेको जिल्ला मध्ये एक हो । अधिकांश दलित नै विपन्न रहेका कारण उनीहरुको बसोबास रहेको स्थानमा पुगेर विशेष राहतको व्यवस्था नगर्ने हो भने उनीहरुको ज्यानै जोखिममा नपर्ला भन्न सकिन्न । सरकारले भोक र रोगबाट कोही पनि नमर्ने बताईरहेपनि सप्तरीमा ठण्डीकै कारण वर्षेनी जसो मानिसले ज्यान गुमाउने गरेका छन् । विशेष गरी डोम, मुसहर लगायतका दलित समूदाय पुस्तौंदेखि गरिबीको दुष्चक्रमा छन् ।
अहिले आएको परिवर्तनले पहिला त्यस्तालाई छुन सकेमा मात्र त्यसको सार्थकता झल्किने छ । गरिबीका कारणले दैनिक जीवनयापन गर्न नसक्नेहरुलाई नै प्राथमिकतामा राखेर काम गर्नुपर्ने सरकारको जिम्मेवारी पनि हो । यसकालागि स्थानीय, प्रदेश तथा केन्द्र सरकारले समयमै चासो देखाउन जरुरी छ । ठण्डीको समयमा यदाकदा केही व्यक्तिलाई लक्षित गरेर कम्बल तथा अन्य न्यानो कपडा वितरण त गरिन्छ । तर, एक दुई ठाउँमा केही व्यक्तिलाई मात्र यस्ता सामग्री वितरण गरेर सबैको समस्या समाधान भयो भन्न मिल्दैन ।
विशेष गरी सप्तरीको गरिबी निकै कहालीलाग्दो अवस्थामा छ । अहिले पनि विहान बेलुकाको दुई छाक खानाको जोहो गर्न नसक्नेहरु ठूलै संख्यामा छन् । गाउँघरमा विपन्न दलित समूदाय पुस्तौंदेखि पोखरीको डिल, डगर छेउका ऐलानी पर्ति जग्गामा झुप्रो बारेर बसोबास गर्दै आएका छन् । बासस्थान समेत गतिलो नभएका कारणले उनीहरुलाई चिसोको अत्यधिक प्रभाव पर्ने गरेको छ । ठण्डीको कारणबाट विरामी पर्दा समयमा उपचार समेत नपाएका कारण कतिपयको ज्यानै जाने अवस्था समेत आउने गरेको छ । यस्तो विषम अवस्थामा तिनको संरक्षण कसरी गर्न सकिन्छ भन्नेमा तीनवटै तहको सरकारले सोच्न जरुरी छ ।