राजविराज, १३ पुस ।
पार्टीको केन्द्रिय सर्कुलर बमोजिम नेपाली कांग्रेस सप्तरीले जिल्लाको ४ वटै प्रतिनिधि सभा क्षेत्रहरुमा सोमबार एक साथ विरोध प्रदर्शन गरेका छन् ।
निर्वाचन क्षेत्र नम्वर एक अन्तर्गत सप्तरीको भादहमा आयोजित विरोध सभामा पूर्व मन्त्री हेमराज तातैड, पूर्व राज्य मन्त्री रामकुमार चौधरी, क्षेत्रिय नेता बद्रि महात्मान(यादव) लगायतकाहरू ले सम्बोधन गरेका छन् ।
यसैगरी क्षेत्र नम्वर २ अन्तर्गत सदरमुकाम राजविराजमा आयोजित विरोध सभामा प्रदेश सभा सदस्य गिता देवी यादव, कांग्रेस सप्तरीका सचिव रामकुमार यादव, नेता शम्भुलाल देव, नेवि संघका पूर्व केन्द्रिय सह–महामन्त्री इर्शाद अन्सारी लगायतकाहरूले मन्तव्य व्यक्त गरेका छन् । स्थानीय शिव मन्दिर प्रांगणबाट निकालिएको विरोध जुलुस नगर परिक्रमासहित सहिद दशन चोक (जन आंदोलन चोक) मा आएर विरोध सभा परिणत भएको थियो ।
यता निर्वाचन क्षेत्र नम्वर ३ अन्तर्गत रुपनी बजारमा आयोजित प्रदर्शनमा पार्टीका जिल्ला सभापति दिनेश यादव आफै सहभागी थिए । सभापति यादवका अतिरिक्त प्रदेश सभा सदस्य मोहम्मद समिम, नेता रामप्रसाद मण्डल लगायतकाहरूले सम्बोधन गरेका थिए ।
पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस निर्वाचित सप्तरीका एक मात्र निर्वाचन क्षेत्र नम्वर ४ अन्तर्गत धाँतीमा आयोजित विरोध सभालाई विघटित प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरी, स्थानीय नेता जितेन्द्र यादव लगायतकाहरुले सम्बोधन गरे ।
प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेसले सप्तरीसहित देशैभरिका १ सय ६५ निर्वाचन क्षेत्रमा सोमवार वृहत प्रदर्शन गरेका छन् ।
पार्टीको केन्द्रिय सर्कुलर अनुसार देशैभरी विरोध प्रदर्शन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसले त्यस विरुद्ध आन्दोलन गर्दैआएको छ ।