• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

८५ बढी महिला तथा बालिका हत्या, यौनजन्य हिंसा तथा बलात्कारको शिकार

सन् २०२० ः महिला–बालिकाहरुका लागि हिंसाको वर्ष

जितेन्द्र ‘जितु’
राजविराज, १३ पुस ।
सन् २०२० विभिन्न दृष्टिकोणले नेपाल तथा विश्व समुदायका लागि खासै उपलब्धि मुलक हुन सकेन । खासगरी कोरोना भाईरस संक्रमण तथा त्यसको प्रभाववस गरिएको लकडनले एका तिर विश्वभर ठुलो संख्यामा धनजनको क्षति बेहोर्नु परेका कारण पनि आम सर्वसाधारण माझ वर्ष २०२० लाई साकारात्मक रुपमा लिईदैन, यस वर्षलाई चांडै विदा गर्ने मनसय आमजनमा सहजै अनुभूति गर्न सकिन्छ ।

सन् २०२० को वैश्विक प्रभाव र समस्याबाट सप्तरी पनि अछुतो छैन् । कोरोनाका कारण आफन्त गुमाउने पीडादेखि लिएर रोजी रोटीसम्मको समस्या सप्तरीवासीले पनि हदैसम्म झेल्नु परेको अवस्था छ । यद्यपि कोरोनाबाट पर्न गएको शारीरिक, आर्थिक तथा मानसिक तनावका बीच समाजको आधा अंग मानिने महिला तथा बालिकाहरूमाथि यस वर्ष हत्या, बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरु पनि व्यापक देखिएको छ ।

मानवाधिकारको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था इन्सेकको तथ्यांक अनुसार सन् २०२० को जनवरीदेखि हालसम्म सप्तरीमा ८५ जना महिला तथा बालिका हत्या, बलात्कार, यौनजन्य तथा घरेलु हिंसा एवम् बाल विवाह, वहुविवाह लगायतका घटनाहरुमा पीडित भएका छन् ।

मानव अधिकार वर्ष पुस्तकको वार्षिक पूर्व समिक्षा कार्यक्रममा इन्सेकका सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेलले प्रस्तुत गरेको तथ्यांक अनुसार यस वर्ष हालसम्म सप्तरीमा ४ जना महिलाको हत्या भएको छ भने तीन महिला माथि हत्याको प्रयास भएको छ । यस अबधिमा एक जना माहिलालाई सामुहिक बलात्कारसहित १० महिला बलत्कृत भएकी छिन् । तीन जना अपांगता भएकी बालिकासहित कूल २६ जना बालिका पछिल्लो एक वर्षको अबधिमा बलात्कारको शिकार भएको इन्सेकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यस अबधिमा ११ जना महिलामाथि बलात्कारको प्रयास भएको छ भने १२ जना बालिका यौन दुव्र्यवहारको शिकार बन्न बाध्य भएकी छिन् । ३ जना महिलामाथि अमानवीय व्यवहार, ११ वटा वहुविवाह, ६ महिलामाथि घरेलु हिंसा तथा तीन जना बालिका बेचबिखनको शिकार भएको इन्सेक प्रतिनिधि पोखरेलद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार महिला हत्याको ४ घटनामा ३१, ४०, ४७ र ५५ वर्षीया महिला पीडित भईन् । घटनामा २१ देखि ६० वर्षका २० जना आरोपित रहे । आरोपितमध्ये ४ जना थुनामा छन्, ३ जना साधारण तारेखमा रिहा भए भने ४ जना हालै गिरफ्तार भए । हत्या प्रयासका ३ घटनामा ३०, २४ र २० वर्षीया महिला पीडित भइन् । २७ देखि ५५ वर्षीय ६ जना आरोपितमध्ये २ जना पुर्पक्षका लागि थुनामा छन् ।

यसैगरी महिला बलात्कारका १० घटनामा १८ देखि ३५ वर्षीया १० महिला पीडित भएको प्रतिवेदनमा भनिएको छ । एक सामुहिक बलात्कारसहित १० बलात्कारको घटनामा १९ देखि ३५ वर्षीय १२ जना आरोपितहरु छन् । जसमा ५ जना थुनामा र ६ जना फरार छन् । एउटा घटनामा गाउँमै सहमति भएको थियो ।

यता महिला बलात्कार प्रयासका ११ ओटा घटनामा १९ देखि ५६ वर्षीया महिला पीडित भएको प्रतिवेदनले देखाउँछन् । यसमा १९ देखि ५२ वर्षीय १३ जना आरोपित रहे । जसमा १ जना थुनामा, २ जना धरौटीमा, २ जना साधारण तारेखमा र १ जना जमानीमा रिहा भए भने ६ जना फरार छन् । एउटा उजुरी दर्ता भएन् ।

बालिका बलात्कारको २६ घटनामा ४ देखि १७ वर्षीया २६ जना बालिका पीडित भइन् । जसमा १ बालिकाले आत्महत्या गरिन । पीडितमध्ये ३ जना अपाङ्गता भएकी बालिका छिन् । आरोपित ७ वर्षदेखि ४५ वर्षका ३४ जना छन् । आरोपितमध्ये १६ जना पुर्पक्षका लागि थुनामा र १ बालक बालसुधार गृहमा छन् भने ७ र ८ वर्षीय २ बालकमाथि मुद्दा चल्न नसकेर अभिभावकको जिम्मा लगाइएको छ । १ जना धरौटीमा रिहा भएका छन् । आरोपितमध्ये १ जना अपरिचित र १ जना बालिकाका बुवासमेत १४ जना गिरफ्तार भएका छैनन् ।

बाल यौन दुव्र्यवहारका ११ घटनामा ७ देखि १७ वर्षीया १२ बालिका पीडित भइन् । आरोपितमा १८ देखि ७६ वर्षीय २१ जना छन् । जसमा २ जना पुर्पक्षका लागि थुनामा छन्, ७ जना धरौटीमा रिहा भएका छन्, २ जना हालै गिरफ्तार भएका छन भने १० जना फरार छन् ।

यो अवधिमा एक ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपित २० वर्षीय आरोपित गिरफ्तार भएका छैनन् । बालविवाहका ५ घटना जनप्रतिनिधी, प्रहरी, इन्सेक, बाल सञ्जाल र गाउँलेको पहलमा रोकिएको छ भने एउटा बाल तथा बहुविवाहको आरोपित २ जना फरार छन् ।

त्यस्तै बालिका बेचविखनका २ घटनामा १५, १४ र १३ वर्षीया बालिका पीडित भइन् । आरोपितमध्ये ४२ वर्षीया पुर्पक्षका लागि थुनामा र १६ वर्षीय बालसुधार गृहमा छन् । अन्य ४५, १९ र १८ वर्षीय पुरुष हालसम्म गिरफ्तार भएका छैनन् ।