• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

फर्क फर्क हे जाऊ समाऊ मानिसहरुको पाउ ।
मलम लगाऊ आर्तहरुको चहर्याईरहेको घाउ ।।

महाकवि लक्ष्मी प्रसाद देवकोटाका रचनाबाट उद्धृत गरिएका अंश हुन् यी । यी उद्धरणमा मानवीय सेवाको भाव झल्किएको पाईन्छ । जन्मँदा सबै मानिस उस्तै गरी जन्मिन्छन् । तर पनि कोही सुखीसम्पन्न भएका कारणले उनको जीवन सुखसयलमा बित्दछ भने कतिपय भोका, नांगा तथा उपचार नपाएर रोगी जीवन घिसार्न बाध्य हुन्छन् ।

पीडा र समस्या सबै मानिसकालागि उस्तै कष्टदायक हुन्छन् । यस्तो समस्यामा परेकालाई कतिपय मानवले नै उदारता देखाउने गर्दछन् अनि कतिले देखे पनि, सक्ने भए पनि बेवास्ता गरेर हिँड्दछन् । आफूलाई पर्दा त्यो समस्या हो भने अरुलाई परेमा त्यसमा टाउको किन दुःखाउने भन्ने सोच पाल्नेहरुकालागि मानवीय पीडा बेदनाको खासै मतलब रहन्न पनि । तथापि अरुको सेवा र सहयोगमा चासो देखाउने जस्तो पवित्र भावना भएका थोरै व्यक्तिका उदारताले कसैको कष्टहरण हुन्छ भने यसलाई पूण्य कार्य मान्नु पर्दछ ।

उनीहरुको सत्कर्मले अरुलाई पनि यस्ता मानवीय कामकालागि मार्गदर्शनका साथै प्रेरणा दिने गर्दछ । आइतबार राजविराजमा पनि यस्तै एक पवित्र कार्य भएको छ । सडक मानव मुक्त अभियानमा लागेको मानव सेवा आश्रम नामक संस्थाले सडकमै आश्रय लिन बाध्य सप्तरीका ३६ जनालाई उद्धार गरी उपचार तथा भरणपोषणकालागि लिएर गएको छ । स्थानीय एक पत्रकार तथा मानवअधिकारकर्मीको समन्वयमा विभिन्न कानूनी प्रकृया समेत पूरा गरेर राजविराज नगरपालिकामा एक कार्यक्रमको आयोजना समेत गरी उनीहरुलाई बीरगञ्ज स्थित आश्रममा लगिएको हो ।

बेसहारा, असहाय, अनाथ तथा अभिभावकविहीन त्यस्ता मानवको उद्धार अवश्य पनि पवित्र मानवीय कार्य हो । मानव सेवा आश्रमले कुनै स्वार्थकालागि नभई विपत्तिमा परेका यस्ता मानिसलाई पनि खान, लाउन तथा उपचार गर्नकालागि आफ्नै प्रयासमा यस्तो कार्य गरी हज्जारौंको उद्धार गरिसकेको छ । व्यक्तिगत लाभहानी भन्दा पनि मानवीय कार्यलाई प्राथमिकतामा राखेर उक्त संस्थाले यो अभियान अघि सारेर प्रशंसनीय तथा पवित्र कार्यको थालनी गरेको छ ।

सरकारले सडक मानव नरहने बताईरहे पनि त्यसकालागि ठूलो रकम खर्च भएको हुन सक्छ । तर, मानव सेवा आश्रमले आफ्नै अग्रसरतामा सुरु गरेको यो अभियानले अहिले नै यस्ता थुप्रैको उद्धार गरिसकेका कारण निस्वार्थ भावनाले गरिने यस्ता काममा समर्पण भए त्यो निश्चय पनि सफल हुँदो रहेछ भन्ने प्रमाणित भएको मान्नु पर्दछ ।