राजविराज, ०८ पुस ।
विघटित संसद पुनस्र्थापनाको मागसहित बुधबार जनता समाजवादी पार्टी नेपालले सप्तरी सदरमुकाम राजविराजसहित मुलुकभरी प्रदर्शन गरेको छ । पार्टीको केन्द्रिय निर्णाय बमोजिम जसपाले यसरी राजविराजसहित मुलुकभरीका जिल्ला सदरमुकामहरुमा प्रदर्शन गरेको हो ।
बिभिन्न जिल्लामा उपलब्ध पार्टीका केन्द्रिय तहका नेताहरु समेत प्रदर्शनमा सहभागिता जनाएका छन् । विरोध ¥यालीमा संसद पुनस्र्थापनाको मागसहित प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध नारावाजी गरिएको छ ।

राजविराजस्थित स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएका ¥याली मुख्य बजार क्षेत्रको परिक्रमा सहित स्थानीय जनआन्दोलन चौकमा कोणसभामा परिणत भएको थियो । पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित विरोध सभालाई पार्टीका केन्द्रीय तथा प्रदेश नेताहरुले सम्बोधन गरेका छन् ।
सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय नेता एवम् विघटित प्रतिनिधि सभा सदस्य रेणुकुमारी यादवले संसद विघटन गर्ने कार्य असंवैधानिक रहेको भन्दै संसद पुनस्र्थापना हुनुपर्ने माग दोह¥याईन् । ‘आफुहरुले उत्कृष्ट संविधान घोषणा गरेको भन्दै चुनाव लडने, जित्ने, शासन शत्ता चलाउने अनि त्यहीं संविधानलाई अपव्याख्या गरेर संसद विघटन जस्तो कुकृत्य गर्नेहरुलाई नेपाली जनतालाई कहिले पनि माफ गर्दैन’, नेतृ यादवले भनिन्, ‘संविधानको अपमान गर्नेहरुलाई कारवाही नगरिएसम्म जसपाको आन्दोलन जारी रहने छ ।’

संविधानप्रति मधेशी, दलित, जनजाति, आदिवासी, पिछडिएका समुदायहरुको असन्तुष्टि अहिले पनि यथावतै रहेको बताउँदै उनले भनिन्, ‘हामी त संविधानको परिधिमै रहेर संशोधनको मुद्दा शुरुदेखि नै उठाउँदै आएका छौं, तर संविधान संशोधन नहोस्, मुलुकमा स्थायित्व नआओस् भने चाहना अनि सत्तालिप्सा र अहांकरवस प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले यसरी निरंकुशता लाद्न खोजेको हो ।’ संविधानको अपमान गर्दै असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई कारवाही गर्नुपर्ने माग उनले पटक–पटक दोह¥याए ।
विरोध सभालाई पार्टीका केन्द्रिय नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, केन्द्रिय सदस्यहरु रामपृत यादव, विशेश्वर रजक, अमरकान्त झा, नेता विकास तिवारी, राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव, महिला नेतृ मिरा यादव, विद्यार्थी नेता शम्भु यादव, युवा नेता शिवम यादव लगायतकाहरुले सम्बोधन गरेका थिए ।

जुलुस प्रदर्शनका क्रममा सशस्त्र तथा नेपाल प्रहरीको टोलीले कडा सुरक्षा दिएका छन् । यद्यपी सुरक्षाकर्मीहरुले भने कार्यक्रममा कुनै प्रकारको अवरोध भने नपु¥याएको प्रदर्शनकारीहरुको भनाई छ ।
जनता समाजवादी पार्टीले मंगलबार पाँच दिने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । पुस ८ गते बुधवार देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्ष तयारीका लागि देशभरी पार्टी कमिटीहरुको बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।