राजविराज, ०७ पुस ।
सवारी ज्यान मुद्दाका प्रतिवादी सप्तरीको रुपनी गाउँपालिका–६ का रंजितकुमार भगतलाई पूर्पक्षको लागि करागार पठाईएको छ । सोमबार सप्तरी जिल्ला अदालतले भगतलाई करागार पठाउने आदेश सुनाएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी गराए ।
गत मंसिर १० गते भगतलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नुभन्दा झण्डै दुईसाता अगाडी भगतले चलाएको मोटरसाइकलबाट ठक्कर लागेका घाईतेको निधन भएपछि प्रहरीले उनलाई बिरेन्द्र बजारस्थिति घरैबाट पक्राउ गरेको थियो । भगतको सवारी चालक अनुमतिपत्र समेत नभएकोले प्रहरीको भनाई छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका ११ मा कार्तिक २८ गते भगत चढेको अन्टेस्ट मोटरसाइकलले वतन नखुलेको पैदल यात्रीलाई ठक्कर हानेको थियो । भगतले चलाएको मोटरसाइकलको ठक्करबाट घाईतेको बिराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियोे । मृतकको भने हालसम्म पहिचान हुन सकेको छैन । मृत्यु भएका ब्यक्तिको आफन्तको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी सप्तरीको डाक्नेश्बरी नगरपालिका वडा नं. ४ बस्ने बर्ष ७३ को जहर राय समेतको मिति ०७७ मंसिर ४ गतेको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी स्थानीय गोपी रायको छोरा बर्ष ६५ को मलहु राय भएको ज्यान मार्ने उधोग मुद्दामा सोमबारै सप्तरी जिल्ला अदालतको आदेशले प्रतिवादी मलहु रायलाइ पुर्पक्षको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।