• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

भोकै पेट, खुला आकाश मुनि बस्ने बाध्यता

घरबारविहीन लक्ष्मी
भोकै पेट, खुला आकाश मुनि बस्ने बाध्यता

राजविराज, ०७ पुस ।
सप्तरीको डाकनेश्वरी नगरपालिका–९ घर भएकी लक्ष्मीदेवी राम(मुखिया) पछिल्लो ४ दिनदेखि घरबारविहीन भएकी छिन् । पति समेतलाई लिएर सासु–ससुरा चार दिन अघि एकाएक फरार भएपछि पछिल्लो चार दिनदेखि आफु घरबारविहीन र भोक भोकै बस्न बाध्य भएको लक्ष्मीको भनाई छ ।

दुई वर्ष अघि लक्ष्मीले तिलाठी कोईलाडी गाउँपालिका–१ तिलाठीका शिवानन्द मुखियासँग प्रेम विवाह गरेकी थिईन् । पछिल्लो ८ महिनादेखि उनी तिलाठीस्थित ससुरालीमै सासु, ससुरा, देवर र पति शिवानन्दसँगै बस्दै आएकी थिईन् । लक्ष्मी तराई मधेशमा कथित तल्लोजात भनाउने चमार समुदायकी हुन् । उसो त मुखिया(मल्लाह) पनि कथित तल्लै जातको मानिन्छन् तर मल्लाहहरु पनि चमार जातिलाई आफु भन्दा तल्लो जातकै भन्ने गरेका छन् ।

आफुहरुको विवाह भएको शुरुदेखिनै आफ्ना ससुरा तिलाठी कोईलाडी–१ का नन्दलाल मुखिया आफुलाई बुहारीको रुपमा भित्र्याउन तयार नरहेको लक्ष्मी बताउँछिन् । ‘शुरुदेखिनै उहाँ(ससुरा)मलाई बुहारी सरह मान्यता दिएर घरमा राख्न तयार थिएन, पछि पति र आफुले निकै रोएकराए पछि राख्न तयार भएपनि शुरुदेखि नै बिभिन्न थरिका तनावहरु झेल्दै आएकी छु’, लक्ष्मीले भनिन्, ‘पछिल्लो पटक शनिबार तिलाठीस्थित बस्दै आएको घर गाउँकै एक जनालाई बिक्रि गरी पति शिवानन्द समेतलाई लिएर सासु ससुरा एक्कासी फरार भएपछि झन् आफु घरबारविहीन बन्नपुगेकी छु ।’

त्यतिवेला आफुले प्रतिवाद गर्दा ससुराले आफुलाई कुटपिट गर्दै ज्यान मार्ने धम्की समेत दिएको लक्ष्मीको आरोप छ । शनिबार यता आफु तिलाठी मै कुनै सडक छेउ तथा कसैको पराल राखिने बारी तथा खेतमा खुला आकाशमै सुतेर दिन काट्दै आएकै लक्ष्मी वताउँछिन् ।

लक्ष्मीको दुराअवस्थालाई हेरेर गाउँका केही यूवाहरुको सहयोगमा उनी मंगलबार जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका शाखामा उजुरी समेत गरेकी छिन् । आफ्नो र आफ्नो पतिको ज्यानलाई समेत खतरा रहेको भन्दै उनले ज्यानको सुरक्षाका साथै वेपत्ता पारिएका पतिको खोजी गरिदिनु हुन प्रहरीमा गुहार गरेकी छिन् । प्रहरीले उनलाई सुरक्षा तथा न्यायको आश्वासन दिएपनि कहाँ बस्ने र के खाने भनी समस्या लक्ष्मीका लागि निकै चुनौतीपूर्ण बन्न पुगेको छ । माईती पक्ष पनि खासै सवल नरहेकोले त्यहाँ पनि धेरै दिन बस्न सक्ने अवस्था नरहेको उनको भनाई छ ।

यता लक्ष्मीका ससुरा नन्दलाल मुखिया र पनि शिवानन्द मुखिया सम्पर्कविहीन रहेका कारण उनीहरुको प्रतिक्रिया लिन सकिएको छैन । यद्यपी प्रहरी लगायत सरोकारवालाहरु लक्ष्मीका पति र ससुराको खोजीमा लागि सकेका छन् ।