• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

नेकपा सप्तरीद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

‘असंवैधानिक संसद विघटन’
नेकपा सप्तरीद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

राजविराज, ०५ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद्को बैठकबाट गरेको सांसद विघटनसम्बन्धि निर्णाय विरुद्ध उनकै दलका नेता कार्यकर्ताहरुले सदरमुकाम राजविराजमा आइतबार प्रदर्शन गरेका छन् । प्रधानमन्त्री विरुद्ध चर्को नारावाजीसहित नेकपाका नेता कार्यकर्ताहरुले राजविराजमा प्रधानमन्त्री ओलीको पुत्ला समेत जलाएका छन् ।

कालो पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका नेकपा नेता कार्यकर्ताहरु विरोध प्रदर्शन तथा नाराजुलुशसहित नगर परिक्रमा गरेका थिए । स्थानीय जनआन्दोलन चौकमा विरोध सभाको आयोजना गर्दै प्रधानमन्त्रीको पुत्ला जलाईएको नेकपाका नेता एवम् पूर्व मन्त्री उमेशकुमार यादवले जानकारी गराए ।

प्रदर्शनमा नेकपा सप्तरीका ईन्चार्ज रामपृत पासवान, केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष अशोक मण्डल(अमर), पार्टीका जिल्ला सचिव एवम् प्रदेश सभा सांसद गोविन्द न्यौपाने, युवा नेता महेशप्रसाद यादव, निरन्जन झा लगायतकाहरुको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्रीको पछिल्लो कदम असंवैधानिक, अलोकतान्त्रिक रहेको तथा यसका कारण नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेको राजनीतिक उपलब्धीहरु समाप्त हुने अवस्था सृजना भएको निष्कर्षसहित आफुहरु सडकमा उत्रेको पूर्व मन्त्री यादवले न्यूज टुडेलाई जानकारी गराए । ‘राजनीतिक उपलब्धिहरु समाप्त पर्ने षड्यन्त्रको मुख्य मतियार प्रधानमन्त्री ओली हुन्’, उनले भने, ‘यो असंवैधानिक कदम तत्काल सच्याउन हामी माग गर्दछौं, अन्यथा हामीसँग आन्दोलनको अर्को विकल्प हुँदैन ।’

राष्ट्रपतिद्वारा सांसद विघटन
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी छिन् । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ ।

 

‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका बिभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।