राजविराज, ०५ पुस ।
सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्वर तीनको कार्यालयमा आइतबार स्थानीयहरुले तालाबन्दी गरेका छन् । सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले तालाबन्दी गर्नुका साथै वडा अध्यक्ष, मेयरलगायत जनप्रतिनिधिहरु विरुद्ध चर्को नारावाजी समेत गरेका छन् ।
पछिल्लो विवाद स्थानीय सार्वजनिक पोखरीहरुलाई ठेक्का लगाउने विषयमा उत्पन्न भएको हो । वडा कार्यालय तथा नगरपालिकाका अनुसार ऐन, कानुन र प्रक्रिया बमोजिम पोखरी ठेक्का पट्टाका लागि ठेण्डर आह्वान गरिएको हो । यद्यपि असन्तुष्ट स्थानीयहरु भने नगरपालिका तथा वडाले आफु अनुकुलकाहरूलाई पोखरी जिम्मा लगाउन गोप्य रूपमा लुकाएर टेण्डर प्रक्रिया लगायतका कामहरू गरिएको आरोप लगाउँदै वडा कार्यालयमा तालावन्दी सहित आन्दोलन थालेका हुन् ।
आन्दोलनको अगुवाई गर्दै आएका स्थानीय मोहम्मद मुम्मताज आलमले वडा तथा नगरपालिकामा भ्रष्टाचार बढेको तथा विकासीय कामदेखि पोखरी ठेक्का पट्टासम्ममा नगरपालिकाका मेयर तथा वडा अध्यक्षले मनमानी गरिरहेका कारण आन्दोलन गर्नुपर्ने बाध्यता आएको बताए ।
अर्का आन्दोलनकारी हसरत अलिले वडा कार्यालय तथा नगरपालिकाकाबाट भएको विवादित निर्णाय नसच्चिएसम्म आफुहरूको तालावन्दी तथा आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।