• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

पूर्व मन्त्री उमेशको जनसम्बन्ध सुदृढीकरण अभियान

पूर्व मन्त्री उमेशको जनसम्बन्ध सुदृढीकरण अभियान

राजविराज, ३ पुस ।

‘मेरो गलती वा मबाट भएका अपराधहरुको बारेमा खुलेर बोल्नुस, म जस्ता एक समान्य कृषकका छोरालाई संविधान सभासम्म पु¥याउने तपाईं जनताहरु नै हो, तसर्थ तपाँईको अगाडि मेरो गलती वा अपराधहरुका बारे क्षमा माग्दा वा दण्ड भोग्दा मलाई कुनै लाज वा ग्लानी हुँदैन ।’

संविधान सभा सदस्य एवम् पूर्व मन्त्री उमेशकुमार यादवले जनसम्बन्ध विस्तार तथा सुदृढीकरण अभियान थालेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रारम्भ गरिएको उक्त अभियान अन्तर्गत टोल÷टोल बस्तीमा आम सर्वसाधारणलाई भेला गरी आमजनको समस्या तथा गुनासो सुन्ने एवम् उक्त समस्या समाधानका लागि पहल थाल्ने उद्देश्यका साथ यो अभियान थालिएको हो ।

अभियान अन्तर्गत शुक्रबार राजविराज नगरपालिका वडा नम्बर १० कमलपुरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व मन्त्री यादवले आफु जनताको अदालत माझ उभिएको उद्घोष गरे । उनले भने, ‘म यहाँ तपाँईहरुको अदालतमा उभिएको छु, मैले आजसम्म केहि गल्ती गरेको छु भने म माफी माग्छु, अपराध गरेको छु भने दण्ड भोग्न तयार छु ।’ उपस्थित आम जनको आदेश भए आफु कान समातेर उठक बैठक गर्न समेत तयार रहेको बताउँदै उनले भने, ‘मेरो गल्ती वा मबाट भएका अपराधहरुको वारेमा खुलेर बोल्नुस्, म जस्ता एक समान्य कृषकका छोरालाई संविधान सभासम्म पु¥याउने तपाईं जनताहरु नै हो, तसर्थ तपाईंको अगाडि मेरो गल्ती वा अपराधहरुका वारे क्षमा माग्दा वा दण्ड भोग्दा मलाई कुनै लाज वा ग्लानी हुँदैन ।’

उक्त वस्तीका १ सय १० जनालाई आमन्त्रण गरिएको कार्यक्रममा झण्डै १ सय २५ जना बढीको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागिहरुले प्रस्तावित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका वारे निकै जिज्ञासा र चिन्ताहरु व्यक्त गरेका थिए । यस वाहेक दिघवा कमलपुर जोड्न पुलको अभाव, चिसो र शितलहरका बीच दलित वच्चाहरुलाई विद्यालय जान न्यानो लुगा तथा जुत्तासम्मको अभाव लगायतका विषयमा जिज्ञासा तथा चिन्ताहरु व्यक्त गरिएको थियो । सहभागिहरु तीनै तहको सरकार प्रति निकै असन्तुष्ट देखिए । खासगरी स्थानीय सरकारसँग निकै अपेक्षा रहेको वताउँदै सहभागिहरुले स्थानीय सरकार आफुहरुको अपेक्षाप्रति खासै खरो नदेखिएकोमा असन्तुष्ट थिए ।

अभियानका वारेमा जानकारी गराउँदै पूर्व मन्त्री यादवले भने, ‘यो कुनै पनि राजनीतिक दलको झण्डा वा ब्यानरमा थालिएको होईन, सबै प्रकारको दल र विचार आवद्धहरुको साझा मंचका रुपमा विस्तार गर्न यो अभियान थालिएको हो ।’ अभियान अन्तर्गत आयोजना गरिने आफ्नो कुनै पनि सभा वा कार्यक्रममा दलीय परिधिबाट माथि उठेर सहभागी बोलाउने गरिएको उनको भनाई छ ।

आम जनको अमूल्य सल्लाह सुझाव, विज्ञता तथा अनुभवहरुबाट सिक्ने तथा जन सहभागिता एवम् समर्थनमा समाजको अग्रगामी एवम् प्रगतिशिल रुपान्तरणको हितमा सदुपयोग गर्ने उद्देश्यका साथ जनसम्बन्ध विस्तार तथा सुदृढीकरण अभियान थाएिको यादव बताउँछन् । अभियानको संयोजक यादव स्वयं नै हुन् ।