राजविराज, ३ पुस ।
प्रदेश–२का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै किसानहरुको समस्या प्रति गम्भीर बन्न संघीय सरकारलाई आग्रह गरेका छन् ।
संघीय सरकारको जिम्मेवारी र नियन्त्रित व्यवस्थाभित्र रहँदै आएको बिउबिजन, मलखादको उपलब्ता र बिक्रीवितरण प्रणाली तथा कृषिजन्य उत्पादनको मूल्य निर्धारण तथा भुक्तानी जस्ता आधारभूत कार्य व्यवस्थित, वैज्ञानिक र किसान हितकारी नहुँदा पहिल्यैदेखि लगानी अनुरुपको प्रतिफल प्राप्त नहुने मर्कामा परेका किसानहरुलाई सधैंभरि आफ्नो उत्पादनको रकम प्राप्त गर्न चिसो सिरेटोमा आन्दोलन गर्नुपर्ने बाध्यता रहेको भन्दै यसप्रति गम्भीर र जिम्मेवार हुन मन्त्री साहले संघीय सरकारसँग आग्रह गरेको हो ।
कृषिक्षेत्रबाट देशमा आर्थिक समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य किसानको आँखामा आँसु र अनुहारमा बोझिलो पीडाबाट सम्भव नहुने बताउँदै मन्त्री साहले उखु किसानको सन्तापहरण गर्ने दायित्वप्रति संघ सरकारको बेवास्ता र उदासीनतालाई दुर्भाग्यपूर्ण तथा चिन्तायोग्य रहेको बताएका छन् । उखु किसानको भुक्तानी नहुने लगायतका समस्याका बारेमा प्रदेश सरकार निरपेक्ष रहन नसक्ने भन्दै मन्त्री साहले जारी विज्ञप्तीमा उद्यागीहरुको अनिच्छा, अर्घेल्याइँ र उपेक्षाका कारण किसानहरु पीडित बन्न पुगेको बताएका छन् ।
यद्यपि यस समस्यालाई तत्काल निराकरण गर्न अपेक्षित भूमिका इमान्दारी र निष्ठापूर्वक निर्वाह गर्न प्रदेश सरकार अझै तत्पर रहेको विज्ञप्तीमा उल्लेख छ । उत्पीडन तथा सबैखाले भेदभावविरुद्धको जनसंघर्ष र स्वशासनको आकांक्षाबाट जन अनुमोदित प्रदेश २ सरकार किसानलाई लाचार र विवश बनाउने कुनै पनि शक्तिको दुस्साहसको सही, सटीक र सबल प्रतिकार गर्ने चेतावनी समेत विज्ञप्ती मार्फत दिईएको छ ।