• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज, ३ पुस ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर २ सकरपुरामा एक जना ५ बर्षीय बालकलाई ट्याक्टरले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रोहित मुखियाका छोरा आनन्द मुखिया रहेका छन् ।

प्रहरीका अनुसार मृत बालक बिहीबार दिउँसो २ बजेबाट नै हराई रहेका थिए । घरबाट खेल्न निस्केका बालक निकै वेरसम्म घर नआएपछि आफ्न्तजनले बालकको खोजि थालेको थियो । खोज तलास गर्दा पनि बालकको कुनै अत्तोपत्तो नलागेपछि परिवारजनले बिहीबारै राति १० बजे तिर प्रहरी चौकी तिलाठीमा जानकारी गराएका थिए ।

पछि तिलाठी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले बालकको खोजी कार्य थालेपछि शुक्रबार विहान ९ बजे बालकको शव फेला परेको प्रहरीले जनाएको छ । बालकको लास आफ्नै घरदेखि झण्डै २५ मिटर पश्चिमतर्फ आँपको हाँगाले छोपिएर राखेको अवस्थामा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहका अनुसार अनुसन्धानको क्रममा स.१त ७७५२ नम्बरको सोनालिका कम्पनीको ट्याक्टरले किचेर बालकको मृत्यु भएको तथा मृत्यु पश्चात उक्त शवलाई आँपको हाँगा मुनि लुकाएर फालिएको हो । ट्याक्टर चालकको पनि पहिचान भई सकेको र निजको खोजी कार्य जारी रहेको डिएसपी साहले जानकारी गराए ।