राजविराज, २ पुस ।
चिसो र शितलहरका वेला कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै स्थानीय यूवाहरुद्वारा संचालित एक संस्थाले बिहीबार सदरमुकाम राजविराजका बिभिन्न वडाहरुमा सचेतना अभिबृद्धीका साथै गरिब विपन्नहरुलाई निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
राजदेवी यूवा समाज नामक संस्थाले यसरी कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि सचेतना अभियान संचालन गर्नुका साथै नगर क्षेत्रका ४ सय ५० दलित, विपन्न तथा गरिब परिवारलाई कोभिड–१९ बाट जोगिने सरसफाई तथा स्वास्थ्य सामग्रीहरु निःशुल्क वितरण गरेको हो ।
अमेरिकामा रहेका तराई÷मधेश क्षेत्रका नेपालीहरुको संगठन ‘आन्टा’को सहयोगमा राजविराज नगरपालिका वडा नम्बर ६, ९, ११ र १२ का झण्डै ४ सय ५० दलित तथा गरिब परिवारलाई प्रति परिवार डिटोल साबुन २ पिस, मास्क ४ पिस, भिटामिन कम्पलेक्स सिरप १ र १ थान थर्मामिटर वितरण गरिएको छ ।
यसअघि बुधबार पनि राजविराज नगरपालिका ११ झलही र राजविराज १२ सिंग्यौन नवका टोल का झण्डै १ सय ७६ परिवारलाई डिटोल साबुन २ पिस, मास्क ४ पिस, भिटामिन कम्पलेक्स सिरप १ र १ थान थर्मामिटर वितरण गरिएको थियो । वितरण समारोहमा उपस्थित भएका राजदेवी यूवा समाजका तर्फबाट यूवा अभियन्ता सुजित मण्डल, बसन्त यादवलगायतले कोरोना भाइरसबाट कसरी जोगिने र हात धुने तरिकाबारे सर्वसाधारणलाई जानकारी गराएका थिए ।
गाउँघरमा कोरोना भाइरसबारे जानकारी अभाव र भ्रम पनि रहेको हामीले महसुस गरेपछि चेतनामूलक कार्यक्रम गर्नुपर्ने आवश्यक महसुस गरेर कार्यक्रम सुरु गरेको राजदेवी युवा समाजका अध्यक्ष सुजित मण्डलले जानकारी गराए । आफुहरुसँग बजेट अभाव रहेकाले अमेरिकामा बस्दै आएका साथीहरुको सहयोगमा काम थालिएको उनले बताए ।