राजविराज, २९ मंसिर ।
सरकार विरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पूर्व निर्धारित कार्यक्रम अनुरुप नेपाली कांग्रेस सप्तरीले सोमबार राजविराजमा प्रदर्शन गरेका छन् ।
कांग्रेस सप्तरीका सभापति दिनेश यादवको नेतृत्वमा राजविराजको राजरंगशालाबाट निस्केका विरोध जुलुसले नगरको बिभिन्न भाग परिक्रमा पश्चात जनआनदोलन चौकमा कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै प्रमुख अथिति नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री चित्रलेखा यादवले वर्तमान सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाईन् । प्रधानमंत्री ओली नेतृत्वको वर्तमान सरकार जनताको पीडा र समस्या समाधान भन्दा कुर्सी मोह र शत्ता लिप्सामा लिप्त भएका कारण जनताले शान्ति, सम्बृद्धि तथा विकासको अनुभूती गर्न नपाएको नेता यादवको भनाई थियो ।
कांग्रेसका तथा पूर्व राज्यमज्त्री राम कुमार चौधरीले वर्तमान ओली सरकार किसानको समस्याप्रति गम्भीर नभएकाले सर्वसाधारण जनता निमूखा हुन लागेको उनको आरोप लगाए ।
कोण सभामा पूर्व मन्त्री हेमराज तातेड, नेता सुरेश चालिसे, कांग्रेसबाट निर्वाचित बिभिन्न गाउँपालिका नगरपालिकाका जनप्रतिनिधि लगायत नेताहरुले वर्तमान सरकार विरुद्ध एकजुट भएर आन्दोलन गर्नुपर्ने अपरिहार्य माथि जोड दिएका थिए ।
वर्तमान सरकारको कार्यशैली विरुद्ध नेपाली कांग्रेसले राजधानी काठमाण्डौसहित देशका ७७ ओटै जिल्लामा सोमबार प्रदर्शन गरेको छ ।
पार्टीको केन्द्रीय सर्कुलर अनुसार जिल्ला समितिहरुले प्रदर्शन गरेको हो । जिल्ला समितिहरुले सदरमुकामहरुमा भव्य प्रदर्शन गरेका छन् । पार्टीका सभापति शेरबहादुर देउवाले हेटौडामा आयोजना गरिएको विरोधसभालाई सम्बोधन गरेका छन् ।
त्यस्तै काठमाडौंमा आयोजित विरोध सभामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कैलालीको धनगढीमा यूवा नेता गगन थापा, कञ्चनपुरको महेन्द्रनगरमा प्रदीप पौडेल, अछाममा एनपी साउदसहितका नेताहरुले विरोध सभामा सम्बोधन गरेका छन् ।
संघीय संसदको बैठक अविलम्ब बोलाउनपर्ने, सरकार निरन्तर रूपमा दमन, भ्रष्टाचार र कोभिड १९ को व्यवस्थापन गर्न नसकेको, भ्रष्टाचार व्यापक रुपमा बढेको, बेथिति मौलाएको, सरकार अधिनायकवादी चिन्तनबाट ग्रसित भएको भन्दै पार्टीका नेताहरुले विरोध जनाएका छन् ।