राजविराज, २९ मंसिर ।
जाडो याम शुरु हुने लगत्तै सप्तरी, सुनसरी लगायत चुरे तथा कोसी नदी छेउका वस्तीमा वसोवास गर्नेहरूका लागि एकातिर चिसो र शितलहरले जनजिवन कष्टकर वन्ने गरेका छन् भने अर्को तिर कोसी टप्पु वन्य जन्तु आरक्षबाट आउने जंगली हात्तीका कारण उनीहरूको जनजिवन झन जोखिमपूर्ण हुँदै आएको छ ।
झुण्डमा वस्ती पस्ने गरेको जंगली हात्तीहरूले खेत वारीमा लगाईएको वाली नष्ट गर्नुका साथै घर भत्काउने र आक्रमण गरि ज्यानसम्म लिने गरेको समस्या यहाँका आमजनका लागि नियती झै भएको छ ।
सोमवार पनि कोसी टप्पु वन्य जन्तु आरक्षबाट आएको जंगली हात्तीका कारण सप्तरी र सुनसरीमा दुई जनाको मृत्यु भएको छ । हात्तीले लखेट्ने क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर ३ दौलतपुर का ७० वर्षीय सीताराम साहको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका उनी पिसाब फेर्न विहान उठेको अवस्थामा दुई वटा जङ्गली हात्तीले लखेटेपछि भाग्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका वडा नम्वर ६ सुकुम्बासी टोलका ३२ बर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
विहान साढे ५ बजे आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सप्तरी, उदयपुर र सुनसरीका एकसय ७५ बर्ग किलोमिटर क्षेत्रमा कोसी टप्पु बन्यजन्तु आरक्ष फैलिएको छ । तर बढ्दो अतिक्रमण र वन विनासका कारण बन क्षेत्र मात्र ४ प्रतिसत बाँकी रहेको अवस्थामा जंगली हात्तीहरु मानव वस्तीतर्फ खाना खोज्दै निस्कने गरेको जानकारहरुको भनाई छ ।
हात्तीको आक्रमणवाट पछिल्लो ६ वर्षमा मात्र सप्तरी, सुनसरी र उदयपुरमा गरि १७ जनाको मृत्यु भईसकेको छ । हात्तीको आक्रमणबाट २०६९ साल यता सुनसरी पश्चिम कुसहाका लालु मण्डल, उतिमलाल मण्डल, कोशी गाउँपालिकाका बेचनीदेबी सरदार, सेबियादेबी सरदार, सप्तरी कंचनपुरकी फुलवादेबी यादब, दुर्गीदेबी मुखिया, मन्जुदेबी साह, भारदहका रोगनाथ खंग तथा हनुमाननगर सप्तरीका रोसनकुमार झा र संजय साफी र दुर्गीदेबी यादबको मृत्यु भएको छ भने त्यस्तै सप्तरी कमलपुरकी संगिता यादब, सुनसरी हरिपुरका प्रमेवहादुर मगर, भोलबीदेबी मुखिया, सप्तरी घोघनपुरका बिन्देश्वर चौधरी, तपेश्वरी उदयपुरका कोकिला श्रेष्ठ, बैरबा सप्तरीका अलाउद्दिन खानको मृत्यु भएको तथ्यांकले देखाउँछन् ।