सरकारको कार्यशैलीलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज देशव्यापी बिरोध प्रदर्शन गर्ने भएको छ । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटनका लागि तनहुँ पुगेको बेला प्रहरीले नियन्त्रणमा लिएको विषय तथा देशमा बढेका बेथिति समेतलाई मुद्दामा समेट्दै काँग्रेस बिरोधमा उत्रिएको हो ।
बर्तमान नेकपा नेतृत्वको सरकारले जनताका समस्या समाधानतिर लाग्नु भन्दा पनि सर्वसत्तावादतर्फ उन्मुख भएका कारण मंसिर २९ देखि सडकमा उत्रन बाध्य भएको काँग्रेसको तर्क छ । सरकारकै कमजोरीका कारण जनताका आर्थिक, सामाजिक, राजनीतिक अधिकार ओझेलमा पर्दै गएको प्रमुख प्रतिपक्षको मात्र नभई अर्को ठूलो दल जनता समाजवादी पार्टीले पनि आरोप लगाउँदै आएको छ ।
मुलुकमा भ्रष्टाचार बढेर लुटतन्त्र हावी हुँदा पनि सरकारले त्यसको नियन्त्रणतर्फ ध्यान दिन सकिरहेको छैन । सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नै भ्रष्टाचारको आरोप लागेका आफ्ना समर्थकको पक्षमा बोल्दै हिँड्ने गर्न थाल्नु भएको छ । भ्रष्टाचार आफूले नगर्ने अनि अरुले गरेको नसहने भनिए पनि भ्रष्टमाथि कारवाही हुन सकिरहेको छैन । यही कुरालाई मुद्दा बनाएर काँग्रेसले सडक तताउने निर्णय लिएको छ ।
जनताको भावना मुखरित गर्ने जनप्रतिनिधिमूलक संस्था संसदको हठात अन्त्य गरिएका कारण अहिले सरकारका कमी कमजोरीलाई संसदमा उठाउन सक्ने अवस्था छैन । कोरोनाका कारणले सिर्जित समस्या, भ्रष्टाचारका कारणले आक्रान्त जनताका भावनालाई ध्यानाकर्षणका लागि घचघच्याउने थलो संसद नै हो । लोकतान्त्रिक शासन व्यवस्थालाई सिँढी बनाएर सत्तामा पुगेको वर्तमान सरकारले कोरोना महामारीका कारण छटपटाईरहेका सत्ता स्वार्थको सानो घेरामा सिमित बन्दै गएको भनि आरोप लाग्न थालेको छ ।
लोकतन्त्रमा प्रतिपक्ष भनेको सरकारका गल्ती कमजोरी औल्याएर उसलाई लिकमा ल्याउने शक्ति भनेर मानिन्छ । सरकार बलियो बहुमतका साथ बनेता पनि जनताका समस्याका सबालमा काम गर्न नसकिरहेका कारण यस्तो समयमा प्रतिपक्षले जेजस्तो भूमिका खेल्नु पर्ने थियो त्यो गर्न नसकेको आरोप उसमाथि पनि नलागेको होईन । अहिले बढ्दै गएको भ्रष्टाचार, महंगी तथा अपराधका कारणले पनि जनतामा निराशा बढ्दै गएको छ ।
काँग्रेसले सरकारका कमजोरीलाई उठाएर जसरी आन्दोलनको निर्णय लिएको छ त्यसमा जनताको के कस्तो समर्थन रहन्छ भन्ने कुरा त आगामी समयले नै बताउने छ । प्रमुख प्रतिपक्षको आन्दोलनबाट सरकारको कार्यशैलीमा सुधार आयो, जनसबालमा जिम्मेवारी देखियो भने मात्र त्यसको औचित्य पुष्टी भएको मान्न सकिने छ ।